
भिजिट भिसा प्रजरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयसमेत जोडिएको सूचना बाहिरिएपछि विपक्षी दलहरू सरकारविरुद्ध एक ठाउँमा उभिए।
विपक्षी दलहरु माओवादी, रास्वपा, राप्रपासहितका दलहरुले सुरुमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान पटक पटक संसदमा दोहोर्याए। जेठ १२ गतेपछि विपक्षी दलहरुले प्रतिनिधिसभाको काम कारबाही नियमित अवस्थामा फर्किन दिएका छैनन्।
गृहमन्त्रीको राजीनामा माग राखेर सदनमा एकढिक्का भएर उभिएका विपक्षी दलहरुभित्र १३ दिनको अवधिमा आन्दोलनलाई अघि बढाउने विषयमा मतभिन्नता देखिन थालेको छ।
राजीनामाको माग छाडेर माओवादी, रास्वपासहितका दलहरु छानबिन समिति बनाउनुपर्ने मागमा झरेका थिए। तर, बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि राष्ट्रिय राजनीतिमा आएको उतारचढावपछि गृहमन्त्री र भिजिट भिसा प्रकरणमा माओवादी आन्दोलनबाट पछि हटेको छ।
राजीनामाबाट छानबिन समिति बनाउनु पर्ने बताउँदै आएको माओवादी सोमबारसम्म आइपुग्दा रास्वपालाई ‘धोका’ दिएर कांग्रेस–एमालेकै कित्तामा उभिन पुगेको छ। संसद्मा आन्दोलन छाड्न फेस सेभिङ गर्ने उपायको मात्रै खोजीमा माओवादी लागेको कांग्रेसका एक नेताले बताए।
ती नेताले भने, ‘राजनीतिक घटनाक्रम फेरिएपछि माओवादी अब छानबिन समितिको पक्षमा पनि छैन। उसले आफ्नो फेस सेभिङ गर्ने उपाय खोजिरहेको छ।’
माओवादी नेताहरुको अभिव्यक्तिले पनि अब उनीहरु भिजिट भिसा प्रकरणलाई लम्ब्याउने पक्षमा देखिँदैनन्। आइतबार संसद्बाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता र प्रतिपक्षी दलबीच सहमति भएर छिट्टै सदन चल्नेमा आफू आशावादी रहेको बताएका थिए।
उनले कांग्रेस सभापति देउवासँगको भेटघाटपछि सबैमा लचकताको महशुस गरेको उल्लेख गर्दै समस्या समाधान गर्न माओवादी लचिलो बन्न तयार भएको बताएका थिए।
दाहालले भने, ‘सबै लचिलो बन्नुपर्छ। समस्या समाधान गर्नको लागि माओवादी लचिलो बनेर मात्र पुग्दैन। सरकार पनि लचिलो हुनुपर्छ। तर, हिजो कांग्रेस सभापतिज्युसँग कुरा गर्दा सबैतिर लचकताको संकेत मैले देखेको छु। मलाई लाग्छ, भाषामा समझदारी बनेपछि छिट्टै सदन चल्छ।’
बिहीबार माधव नेपालविरुद्ध मुद्दा दर्ता भएपछि दाहालले जनकपुरमा रहेका कांग्रेस सभापति देउवासँग फोनमै कुराकानी गरेका थिए। त्यसपछि उनीहरुबीच शनिबार साँझ बुढानीलकण्ठमा झण्डै दुई घण्टा कुराकानी भएको थियो।
त्यसअघि प्रचण्डसँग कुराकानी गर्नसमेत अस्वीकार गर्दै आएका देउवाले माधव नेपाललाई मुद्दा लागेपछि बसेर लामै कुरा गर्न तयार भएपछि माओवादी उत्साहित भएको छ। प्रचण्डनिकट एक माओवादी नेताले भने, ‘शनिबार उहाँ (प्रचण्ड) देउवासँग चार पाँच घण्टा नै कुरा गर्ने गरी जानुभएको थियो। त्यति लामो कुरा त भएन। तर, भेट्नै अस्वीकार गर्दै आएको अवस्थामा संवादको ढोका खुलेको छ।’
देउवासँग सुरु भएको संवादलाई माओवादीले सत्ता गठबन्धन परिवर्तनसम्म पुर्याउने लक्ष्य राखेको छ। त्यस्तो अवस्थामा कांग्रेसबाट गृहमन्त्री भएका लेखकलाई ‘अप्ठरोमा पारेर’ हुँदैन भन्ने निष्कर्षका साथ माओवादी रास्वपालाई छाडेर कांग्रेससँग नजिक भएको हो। पछिल्ला दिनमा कांग्रेस–माओवादी गठबन्धनका पक्षधर भनेर चिनिएका उपसभापति पूर्णबहादुर खड्का सक्रिय भएका छन्। जसका कारण पनि माओवादी रास्वपालाई छाडेर कांग्रेससँग नजिकिन पुगेको हो।