सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश ‘खाम्सोङ’ तामाङले कुटपिट गरेका छन्।
मंगलबार बसेको व्यवस्थापन समितिको बैठकका दौरान तामाङले गालीगलौज गर्दै भण्डारीमाथि आक्रमण गरेको शिक्षक महासंघ सिन्धुपाल्चोकले जनाएको छ। कुटपिटबाट उनको आँखा र गालामा चोट लागेको छ।
नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका समितिले जारी गरेको विज्ञप्तिमा घटनाप्रति घोर आपत्ति प्रकट गर्दै तामाङलाई तात्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ— “अध्यक्ष तामाङले कार्यकक्षमै अभद्र गालीगलौज र अपमानजनक व्यवहार गर्दै प्रधानाध्यापक भण्डारीमाथि आक्रमण गरेका छन्। यसले शैक्षिक वातावरणलाई गम्भीर रूपमा असर पुर्याएको छ।”
महासंघले चेतावनी दिंदै थपे–“अध्यक्ष तामाङलाई कारबाही नगरे जुनसुकै मूल्य चुकाउन हामी तयार छौँ।”
घटनाबारे प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको बताएको भए पनि आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।





