बैंकिङ प्रणालीमा अनधिकृत प्रवेश गरी ग्राहकको खाताबाट १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले बैंककै एक जना कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बैंकका कर्मचारीले नै बैंकिङ प्रणालीमा प्रवेश गरी ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेर रकम हिनामिना गरेको खुलेको भेटाएपछि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विभिन्न मिति तथा समयमा बैंकका कर्मचारीले ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरी आफ्नो प्रयोग गर्ने मोबाइल नम्बर खातामा राखेका थिए । त्यसपछि मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत ट्रान्जेक्सन अलर्टसमेत नहुने गरी ग्राहकहरूको खाताबाट १ करोड ६५ लाख रुपैयाँ अनाधिकृत रूपमा स्थानान्तरण गरिएको पाइएको हो ।



घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका–१ का २८ वर्षीय रिशभ कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिपेन्द्र बहादुर सिंहले जनाएका छन् । पक्राउ परेका कार्कीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।

प्रहरीले यस्ता घटनाबाट जोगिन ग्राहकलाई आफ्नो बैंक खातामा प्रयोग भएको मोबाइल नम्बर तथा मोबाइल बैंकिङ विवरण नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । साथै कुनै असामान्य गतिविधि देखिए तत्काल सम्बन्धित बैंक तथा प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ । प्रहरीका अनुसार बैंकिङ प्रणालीको दुरुपयोग गरेर रकम हिनामिना गर्ने घटनामा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय