फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिटमा विजय हासिल गरेको छ। समानुपातिकतर्फ जारी मतगणनामा पनि हालसम्म करिब ४८ प्रतिशत मत रास्वपाले प्राप्त गरेको छ। यस आधारमा समानुपातिकबाट थप करिब ५८ सिट रास्वपाले जित्ने अनुमान गरिएको छ।
निर्वाचनको यही परिणामपछि अब बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् र नयाँ सरकार कहिले बन्छ भन्ने विषयमा व्यापक चासो बढेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेछ। त्यसपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
उनका अनुसार प्रतिवेदन बुझाउनुअघि आयोगले केही प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। समानुपातिक मतगणना सकिएपछि दलहरूले प्राप्त गरेको मतका आधारमा सिट संख्या निर्धारण गरिन्छ। त्यसपछि राजनीतिक दलहरूसँग ती सिटमा मनोनयन गरिने सांसदहरूको सूची मागिन्छ।
त्यसपछि आयोगले ती नामहरू विभिन्न वर्ग र समूहअनुसार मिलेको–नमिलेको जाँच गर्छ। दलहरूले समानुपातिक बन्दसूचीबाट महिला, दलित, मधेसी, जनजाति, खसआर्य लगायत समूहको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ।
संविधानअनुसार संसदमा प्रत्येक दलले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ। त्यसैले दलहरूले पठाएको सूची सोही आधारमा मिलाइएको हुन्छ।
यी सबै प्रक्रिया पूरा भएपछि मात्र आयोगले समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्छ। त्यसपछि प्रतिनिधिसभा निर्वाचनको पूर्ण प्रतिवेदन तयार पारेर राष्ट्रपतिसमक्ष बुझाइन्छ।
निर्वाचन आयोगका अनुसार यो प्रक्रिया पूरा हुन चैतको पहिलो सातासम्म समय लाग्ने सम्भावना छ। प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि मात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
यस आधारमा सरकार गठनको प्रक्रिया सुरु भएपछि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्नेछ। रास्वपाले निर्वाचनअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। त्यसैले संसदीय दलको नेता पनि उनलाई नै बनाइने लगभग निश्चित मानिएको छ।
रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। निर्वाचन आयोगको प्रक्रिया र दलको आन्तरिक निर्णयअनुसार चैतको दोस्रो सातातिर बालेन शाह प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको छ।






