कालीकोट । गणित सुधार्न भन्दै पढाइका लागि साथीको घरमा आउजाउ गर्थिन् । घरमा आएका बेला साथीका बुवाले के खायौ ? कसो गर्यौ भनेर चासो दिन्थे । गाउँकै ती पुरुष नाताले उनका हजुरबुवा पर्छन् । भेट्यो कि केही समस्या परे भन्नु है भन्थे । कहिलेकाहीँ सुटुक्क पैसा पनि दिन्थे । औधी माया देखाउँथे । गत पुसमा केही सामान आवश्यक परेमा किन्नु है भनेर ५ सय रुपैयाँ दिएका थिए ।
साथीकी आमा छोरा–छोरी पढाउन गत तिहारदेखि काठमाडौंमा छन् । घरमा पत्नी नभएका ती पुरुषको मनमा पाप पलाएको उनलाई पत्तै भएन । आफ्ना आमा–बुवा घरमा नभएकाले अभिभावक जस्तो ठानिन् । नियमित आउजाउ भइरहेको थियो । तर, गत माघ १२ मा खाना पाक्न ढिलो भएकाले उनी साथीको घर गइनन् । अर्को दिन साँझ जाँदा हिजो किन आइनौ भनेर सोधी खोजी गरे । ‘तिमी नआउँदा त मलाई नियास्रो लाग्छ भने,’ बालिकाले सुनाइन्,‘ त्यसदिन साँझ ९ बजेसम्म पढ्यौं । अनि साथी र म सवा ९ बजेतिर भुइँमा ओछ्यान लगाएर सुत्यौं ।’
साथीका बुवा छुट्टै सुतेका थिए । तर, राति १० बजेतिर एक्कासि सुतेको ठाउँमा आएर जबरजस्ती गर्न थालेको उनले सुनाइन् । ‘कराउन खोजेँ । मुख थुनेर जबरजस्ती गरे,’ उनले भनिन्, ‘अनि बाहिर लगेर ५ सय दिए । कसैलाई नभन्नु, भन्यौ भने मारी दिन्छु, नभने माया गर्छु भने ।’ जिल्लाकी १३ वर्षीया बालिकाका अनुसार माघ १४ को बिहान साथी चर्पी गएका बेला पनि जबरजस्ती गरेको सुनाइन् । रास्कोट–१ का ५३ वर्षीयले जबरजस्तीकरणी गरेर गर्भवती बनाएको खुलेको छ ।






