काठमाडौं । घटना गत बुधबार साँझ करिब सवा ७ बजेको हो । पोखरा महानरपालिका–१८, सेदी बस्ने ४२ वर्षीया सृजना पौडेल केसी घर फर्किन पोखरा-बाग्लुङ सडक खण्डको छेउमा सार्वजनिक बस कुरिहेकी थिइन् ।

घर जान बस कुरिरहेकी उनीमाथि अचानक पछाडिबाट खुँडा प्रहार भयो । सृजनामाथि खुँडा प्रहार भएको सूचना केही क्षणमै वडा प्रहरी कार्यालयल बैदाममा पुग्यो ।



सूचनालगत्तै बैदाम प्रहरीका प्रमुख डीएसपी नमराज भट्टराईको कमान्डमा खटिएको टोली सृजना ढलेको स्थान पुग्यो । तर, कसले र किन ? सृजनामाथि खुँडा प्रहार गरेको हो ? केही ‘क्लू’ फेला परेन ।

खुँडा लागेर सडकमै ढलेकी सृजनालाई प्रहरीले तत्काल अस्पताल पुर्‍यायो । गण्डकी मेडिकल कलेज पुर्‍याइएकी सृजनालाई डाक्टरहरूको टोलीले अस्पताल पुर्‍याएको एक घण्टापछि मृत घोषणा गर्‍यो ।

घरमा एक्लै रहेकी ४ वर्षीया छोरी आमा फर्किने पर्खाइमा थिइन् । सृजनाले ९ वर्षअघि पोखरा–५, जिरो किलोका कृष्ण क्षेत्रीसित विवाह गरेकी थिइन् ।

बिहेको ४ वर्षमै श्रीमान् कृष्ण क्षेत्रीको निधन भयो । पहिलाकी श्रीमतीको निधन भएपछि कृष्णले सृजनासित दोस्रो बिहे गरेका थिए । सृजनासित बिहे गरेपछि छोरी जन्मिएलगत्तै उनको निधन भयो ।

जेठी श्रीमतीबाट कृष्णका एक छोरा र दुई छोरी थिए । छोरा हाल लागुऔषध मुद्दामा जेलमा छन् । कृष्णको मृत्युपछि ४ वर्षीया छोरी हुर्काउने जिम्मा सृजनाकै थियो ।

तर, बुधबार साँझ सृजना सडक मै अस्ताइन् । ४ वर्षीया छोरी बुबाआमाविहीन बनेकी छन् । श्रीमान्‌को मृत्युदेखि नै सृजनाको जीवनको यात्रा मोडिन पुगेको थियो । बुधबारबाट भने जीवन नै सकिएको छ ।

कसले हानेका थिए खुँडा ?

सृजनालाई खुँडा प्रहारपछि आरोपित घटनास्थलबाट स्कुटर चलाएर भागेका थिए । तर, को हुन् भन्नेबारे प्रहरीलाई भेउ थिएन ।

घटनास्थलका प्रक्षत्यदर्शीको बयानअनुसार, प्रहरीले स्कुटरबारे अनुसन्धान थाल्यो, घटनास्थल र आसपासको सडकखण्डका सीसीटीभी फुटेजबारे विश्लेषण गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार सीसीटीभी फुटेजकै आधारमा स्कुटरको नम्बर पत्ता लागेपछि प्रहरी तीन दिनपछि आरोपितसम्म पुग्न सफल भएको हो ।

खुँडा प्रहार गर्दा आरोपीले स्कुटरको नम्बरप्लेटसमेत छोपेको थियो । तर, प्रहरीले विभिन्न प्राविधिक अनुसन्धानपछि स्कुटर नम्बर पत्ता लगाएको हो ।

खुँडा प्रहार गर्ने युवाले गण्डकी २५ प ३०४४ नम्बरको पहेँलो रंगको स्कुटर प्रयोग गरेका थिए । सोही नम्बरको आधारमा प्रहरीले शुक्रबार (चैत २७) गते पोखरा प्रहरीले सृजनामाथि खुँडा प्रहार गरेर हत्या गर्ने २७ वर्षीय सन्तोष केसी भन्ने शिशिर केसी र स्कुटर चलाउने ३२ वर्षीया पोखरा महानगर–१७ का कुशल परियारलाई पक्राउ गरेको छ ।

सन्तोष पर्वत कुस्मा–११ का हुन् । उनी पछिल्लो समय कास्की बस्दै आएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा परियारमाथि कास्की प्रहरीले दुईपटक लागुऔषध मुद्दा चलाइसकेको खुलेको छ ।

यसरी नै अर्का आरोपित केसीविरुद्ध वडा प्रहरी कार्यालय बैदामबाट चोरीडाँका तथा अभद्र मुद्दा गरेर तीनपटक मुद्दा चलाइएको खुलेको छ ।

किन भयो हत्या ?

सृजना पौडेल केसीको घर पोखरा जिरो किलो हो । श्रीमान्‌को मृत्युपछि उनी छोरी लिएर पोखरा महानरपालिका–१८ सेदी बस्दै आएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानअनुसार, श्रीमान्‌को परिवारसित सृजनाको सम्बन्ध राम्रो थिएन । श्रीमान्‌को मृत्युपछि परिवारसितको सम्बन्धमा दरार आयो ।

सौतेनी छेरा जेलमा हुँदा दुई छोरीसितसमेत उनको सम्बन्ध राम्रो भएन । सम्पत्तिका लागि अदालत धाउनुपर्‍यो । जिल्ला अदालतबाट सृजनाले श्रीमान् तर्फको अंशको २५ प्रतिश पाउने फैसला भयो ।

अनुसन्धानका क्रममा उनले सम्पत्ति पाउने भएपछि सौतेनी छोराछोरीलाई चित्त नबुझेको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा त्यही कारण उनीमाथि ‘सुपारी’ लिएर खुँडा प्रहार भएको आंशका प्रहरीको छ ।

प्रहरीको अनुसन्धानका क्रममा खुँडा प्रहार गर्न प्रयोग गरिएको स्कुटरसमेत लागुऔषध मुद्दामा जेल परेका सौतेनी छोराको नाममा रहेको देखिएको छ । खुँडा प्रहार गर्ने सन्तोष केसीसमेत मृतक सृजनाकै नातेदार भान्जा रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय