झापा । शिवसताक्षी–१० माइधारका ३३ वर्षीय सरोज शर्मा हत्या प्रकरणमा नयाँ तथ्य बाहिर आएका छन्। पक्राउ परेका दुई जना आरोपितले प्रहरीसमक्ष ४–५ जनाको समूह मिलेर योजनाबद्ध रूपमा हत्या गरेको बयान दिएका छन्।
पक्राउ परेका माइधारका २५ वर्षीय सुनिल साह र २६ वर्षीय राहुल साहले सरोज शर्मामाथि आक्रमण गर्ने समूहमा ४–५ जना संलग्न भएको बताएका छन्। प्रहरीका अनुसार उनीहरू घटना हुँदा चाहिं त्यही समूहसँगै थिए र अब फरार अन्य सदस्यको खोजी तीव्र गरिएको छ।
कात्तिक ९ गते आइतबार दिउँसो सरोज शर्मा ‘गाडी धुने’ भन्दै बा.१–०३०–च ७१०४ नम्बरको कार लिएर घरबाट निस्किएका थिए।
तर परिवारलाई केही नबोली घरबाट निस्किएको केही घण्टामै उनी सम्पर्कविहीन भए।
चार दिनपछि, कात्तिक १३ गते बिहीबार मेचीनगर–१३, हातेमालो सामुदायिक वन, निचाझोडा क्षेत्रमा चारआली–भद्रपुर सडकखण्डबाट २०० मिटर भित्र गाडी पूर्ण रूपमा जलेको अवस्थामा बिहान १०:४० बजे फेला परेको थियो।
आरोपितका बयानका आधारमा आज बिहान ६ बजे प्रहरी नायब निरीक्षक दिवस कार्कीको कमाण्डमा टोली हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनि पुगेको थियो।
उनीहरूको मार्गदर्शनमा गाडिएको अवस्थाको शव निकालिएको झापा प्रहरी प्रमुख डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।
शवलाई पूर्ण कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।






