रुपन्देही ।राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष एबम युवा नेता टानबहादुर केसीको निधन भएको छ।
बिहीबार मध्यान्ह भाइटीका लगाउँदै गर्दा केसी अचानक बेहोस भएका थिए। उनलाई तत्काल बुटवल हस्पिटल प्रालिमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
राजमोका नेता गङ्गालाल सापकोटाका अनुसार, बुटवल–१९ स्थित आफ्नै निवासमा ५० वर्षीय केसी टीका लगाउँदै गर्दा ढलेका थिए।
उनको निधनप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ —
“टानबहादुर केसी एक इमानदार, निडर र जनमुखी नेता थिए। उनको योगदान रुपन्देही मात्र होइन, सम्पूर्ण बाम आन्दोलनका लागि प्रेरणादायी रहिरहनेछ।”
राष्ट्रिय जनमोर्चाका अन्य नेताहरूले पनि सामाजिक सञ्जालमार्फत ‘सादा जीवन, उच्च विचार’का प्रतीक नेता गुमाउनु ठूलो क्षति भएको उल्लेख गरेका छन्।
रुपन्देहीको बुटवलमा जन्मेका टानबहादुर केसी लामो समयदेखि बाम राजनीति र जनसंघर्षमा समर्पित व्यक्तित्वको रूपमा चिनिन्थे।
२०४६ सालको जनआन्दोलनदेखि नै उनले सक्रिय राजनीतिक जीवन सुरु गरेका थिए। स्थानीयस्तरमा जनमोर्चाको संगठन विस्तारमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
केसीले रुपन्देहीका विभिन्न गाउँ तथा नगर तहमा शिक्षा, सडक र कृषि विकासमा आवाज उठाउने सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनको नेतृत्वमा राष्ट्रिय जनमोर्चा रुपन्देहीले पटक–पटक संघीयता र विदेशी हस्तक्षेपविरुद्ध जनचेतना अभियान सञ्चालन गरेको थियो।





