काठमाडौँ — भदौ २३–२४ को जेनजी आन्दोलनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बुधबार औपचारिक बयान लिएको छ।

बयानको मूल विषय थियो— २४ गते उनी कसरी कारागारबाट बाहिरिए?

आयोग स्रोतका अनुसार, प्रहरीले छानबिनमा पर्याप्त सहयोग नगरेपछि रविको बयानलाई नै महत्वपूर्ण आधार बनाइएको छ। नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीका अभिव्यक्तिसँग रविको भनाइ मिलेकाले अब ती वक्तव्यलाई प्रमाणित गर्दै थप कारबाही अघि बढाउने तयारी छ।

जेलरको खुलासा: सचिवको दबाबमा सही गरेको

जेलर जोशीले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीको दबाबमा एउटा कागजमा सही गरेको बयान दिएका छन्। उनका अनुसार, रवि जेलबाट निस्किएको एक घण्टापछि मात्र उनले कागजातमा सही गरेका थिए।

यही बयानपछि आइतबार आयोगका पदाधिकारीहरू नख्खु कारागारमै गएर लामिछानेसँग भेटेका थिए।

रविले आयोगलाई भने—“म भागेर निस्किएको होइन, प्रशासन र प्रहरी नेतृत्वकै सहयोगमा बाहिर आएको हुँ।”

उनले भेटमै आफूकहाँ भएका सबै सक्कल कागजात अभिलेखका रुपमा राख्न तयार रहेको बताए।

बुधबार लामिछाने सिंहदरबारस्थित आयोग सचिवालयमा उपस्थित भए।

उनको भनाइ पुष्टि गर्नका लागि आवश्यक कागजात उनकी पत्नी निकिता पौडेलले आयोगमा बुझाइन्।

आयोग अब ती कागजात र बयानका आधारमा सम्बन्धित व्यक्तिहरूलाई बिहीबारदेखि नै बयानमा बोलाउने तयारीमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय