काठमाडौँ ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी अभियन्ता रक्षा बमलाई मन्त्री बनाउने विषयमा शुक्रबार सार्वजनिक भएको एउटा गोप्य अडियोले घटनालाई नयाँ मोड दिएको छ।
अडियोअनुसार, हामी नेपाल का संस्थापक सुधन गुरुङले रक्षा बमलाई मन्त्री नियुक्त हुनबाट रोकेको दाबी गरेका छन् भने जेनजी समूहबाट आक्रोशजनक र धम्कीपूर्ण प्रतिक्रिया सुनिएको छ।
स्रोतका अनुसार रानीबारीस्थित ‘हामी नेपाल’ कार्यालयमै रेकर्ड भएको उक्त संवादमा गुरुङसँगै अफ्साना बानु, गुन्जन शाह, खेमराज साउद र जेम्स कार्कीलगायतको उपस्थित रहेको बताइएको छ। अडियोमा सुनेअनुसार गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीलाई फोनमार्फतै रक्षा बमलाई रोकेको कारण खुलाएका छन्।
के भनियो अडियोमा ?
सुधन गुरुङले फोनमा भनेका छन्—
“रक्षा बम हुनु हुँदैन भनेर हामीले भनेका छौँ। उनको नाम एनजीओ र अन्तर्राष्ट्रिय एनजीओसँग जोडिएको कारणले हामीले रोक्यौं। सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भए सबै केटाहरूलाई सोधिनु पर्थ्यो। काठमाडौं बसेर सुदूरपश्चिमको कुरा गरेर भएन।”
यही समूहका केही जेनजी अभियन्ताले भने अडियोमा उग्र आवाजमा बोलेका छन्—
“त्यो मान्छेलाई थुक्छौं,” र “सबैजना जाऔं, थुतेर निकाल्दिने” जस्ता धम्कीपूर्ण अभिव्यक्ति पनि अडियोमा सुन्न सकिन्छ। सामाजिक सञ्जालमा त्यसैगरी समूहभित्र ‘गृहमन्त्रीलाई नै कुटिदिने’ भन्ने आशयका अभिव्यक्तिहरूसमेत चार्दैछन्।
अडियोमा सुधनले थप्छन्—“उसको एनजीओ, आईएनजीओमा नाम मुछिएपछि हामीले रोक्यौं। यत्तिकै तालमा पठाउन मिल्दैन।” उनले जेनजीहरूसँग समन्वय नभएको, सुदूरपश्चिमका घटनाक्रम र पक्षपातबारे चासो राख्दै मजबुत प्रतिक्रिया दिएका छन्।
यो अडियो सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक मञ्चमा हलचल शूरू भएको छ। अडियोमा सुनिएका धम्कीपूर्ण अभिव्यक्तिले सुरक्षा चिन्ता बढाएको र प्रश्न उठाएको छ—के राज्यकर्ताहरूले आन्दोलनको यस्ता ज्वलन्त मोर्चाहरूसँग कसरी संवाद गर्ने र व्यवस्थापन गर्ने ?
स्रोतका अनुसार सम्वन्धित पक्षले औपचारिक जवाफ नदिएकाले राजनीतिक विश्लेषक र आम जनतामा चिन्ता बढेको छ। विशेषगरी, अडियोले देखाएको जेनजी अन्तर्गतको संगठनात्मक कठोरता र प्रतिक्रिया व्यवस्थापनको चुनौतीले सरकार र सुरक्षा निकायहरूलाई छानबिन र समन्वयका लागि सक्रिय हुन बाध्य पार्ने देखिन्छ।






