काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच अपेक्षित सहमति शनिबार पनि हुन सकेन । शुक्रबार दुवै पक्षका दोस्रो तहका नेताहरूले सहमतिका बुँदामा ड्राफ्ट टुंगिएको दाबी गरे पनि सहमतिपत्रमा हस्ताक्षर हुन नसकेको हो ।

रास्वापासंग ५० प्रतिशत हिस्सा मागेका बालेन कुलमानसंग बसेर समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार पार्न तीव्र तयारी थालेको स्रोतले जनाएको छ । स्रोतका अनुसार दुवै जनाको नाम समेटिएको सूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको छ ।

बालेननिकट स्रोतका अनुसार भूपदेव शाह, कुमार व्यञ्जनकार, निश्चल बस्नेत, असिम शाह, शिशिर खनाललगायत नेताहरू शुक्रबारदेखि निरन्तर छलफलमा थिए । तर रास्वपाले बालेन पक्षलाई ३० प्रतिशतभन्दा बढी हिस्सामा सहमत हुन नसकिने अडान लिएपछि सहमतिको प्रक्रिया रोकिएको हो । यो संगै बालेन रास्वपा नभित्रिने निश्चितजस्तै देखिएको छ । यद्यपि चुनावी सहकार्यको सम्भावना भने पूर्ण रूपमा बन्द नभएको बताइएको छ ।

यसअघि बुधबार र बिहीबार भएको छलफलमा बालेनले कुलमानसहितका शक्तिलाई साथमा लिएर पार्टी नाम र चुनाव चिह्न रास्वपाकै हुने गरी सहमति जनाइसकेका थिए । तर सबै शक्ति ३० प्रतिशत हिस्साभित्र अटाउनुपर्ने शर्तपछि बालेन पछि हटेको स्रोतको भनाइ छ ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको प्रस्तावसहित दोस्रो वरीयतामा राख्ने संकेत गरे पनि बालेनले सबै शक्ति एकैपटक आउने गरी सहमति टुंग्याउनुपर्ने अडान राखेपछि संवाद लम्बिएको बताइएको छ । बालेन पक्षले भने रविले जानाजानी समय तानिरहेको निष्कर्ष निकालेको छ ।

स्रोतका अनुसार यदि बालेनलाई कम्तीमा ५० प्रतिशत हिस्सा सुनिश्चित गरिएको भए उनले कुलमान मात्र होइन, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत अन्य वैकल्पिक शक्तिहरूलाई समेत समेट्ने प्रयास गरिरहेका थिए । यही क्रममा नाउपाभित्र देखिएको विभाजन पनि पुनः एकतिर उन्मुख भएको दाबी गरिएको छ ।

रास्वपाका एक नेताले भने शनिबार बालेन र रविबीच प्रत्यक्ष भेट गराउने प्रयास असफल भएको स्वीकार गरेका छन् । ‘बालेन र कुलमानको भेटपछि संवादले गति लिन सकेन,’ ती नेताले भने ।

समय कम हुँदै गएपछि बालेन–कुलमान पक्ष समानुपातिक सूची टुंग्याउन दबाबमा देखिएको छ । जति ढिला भयो, उति अन्य वैकल्पिक दलबाट अफर आउन थालेपछि बालेन पक्षले आइतबारभित्र सूची तयार पार्ने रणनीति बनाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय