उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकतासम्बन्धी प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव हाललाई स्वीकार नगर्ने र एकताको विषयमा थप गृहकार्य गर्दै संवादलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र भावी प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावबारे पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा विस्तृत जानकारी गराएका थिए ।

तर, सो प्रस्तावमा तत्काल अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै बैठकले एकताको बाँकी संवाद र पहल गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई दिने निर्णय गरेको हो ।

बैठक स्रोतका अनुसार पार्टीको नाम र चुनाव चिन्हको विषयमा पनि रास्वपा र उज्यालो नेपाल पार्टीबीच मतभेद देखिएको छ । रास्वपाले पार्टीको नाम यथावत् ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै राख्ने र चुनाव चिन्ह ‘घण्टी’ प्रयोग गर्ने प्रस्ताव गरेको थियो । तर उज्यालो नेपाल पार्टीले सो विषयमा पुनर्विचार आवश्यक रहेको अडान लिएको छ ।

पार्टीले सार्वजनिक गरेको निर्णयमा सहअस्तित्वको विषयलाई मुख्य आधार बनाइएको छ । निर्णयमा भनिएको छ,
“सबैको सहअस्तित्व स्थापित हुने गरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको छ । आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरिएको छ।”

यसअघि आजै काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट पारेका थिए । उनका अनुसार सम्मानजनक सहकार्य र साझा दृष्टिकोणका आधारमा मात्रै दिगो राजनीतिक एकता सम्भव हुन्छ ।

बालेनलाई भावी प्रधानमन्त्रीको उमेदवार बनाउने, रास्वपाको घण्टी चुनाव चिह्नबाटै आसन्न निर्वाचनमा होमिने र सभापति रविको वरीयतामुनि उनी हुने गरी दुवै पार्टीका दोस्रो तहका नेताले सहमतिको संयुक्त खाका तयार थिए ।शनिबार बिहान बालेनले कुलमानसँगको वार्तामा रास्वपाले गरेको प्रस्ताव सुनाएका थिए । तर, कुलमानले आफ्नो अस्तित्व स्वीकार नगरिए मिल्न नसकिने स्पष्ट रूपमा बताइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय