नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । सुदूरपश्चिम राजनीतिमा प्रभावशाली मानिने भट्टको रास्वपा प्रवेशसँगै एमालेभित्र तरंग पैदा भएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका गोकर्ण भट्टले गत १४ कात्तिकमा एमाले परित्यागको घोषणा गरेका थिए । त्यसयता उनी पार्टी राजनीतिमा निष्क्रिय रहेका थिए । शनिबार औपचारिक कार्यक्रममार्फत उनले रास्वपामा प्रवेश गरेका हुन् ।

यसअघि भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय थिए । २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका भट्ट पराजित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि नगर प्रमुखमै उम्मेदवारी दिए पनि विजय हासिल गर्न सकेका थिए ।

रास्वपामा प्रवेशको जानकारी उनले सामाजिक सञ्जालमार्फत समेत दिएका थिए । पार्टी प्रवेश कार्यक्रमको पूर्वसन्ध्यामा उनले लेखेका थिए–
“४६ वर्ष लामो मेरो राजनीतिक यात्रालाई नयाँ उचाइ दिन, झुटा आश्वासनबाट आजित भएका गाउँ–बस्तीका सोझा निमुखा जनताको आवाज बन्न र नयाँ नेपाल निर्माणको महान यात्रामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीमा विधिवत प्रवेश गर्दैछु।”

भट्टको प्रवेशलाई रास्वपाले सुदूरपश्चिममा संगठन विस्तारको महत्वपूर्ण उपलब्धि मानेको छ भने एमालेमा भने यो घटनाले आन्तरिक असन्तोष झल्काएको विश्लेषण हुन थालेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, स्थापित दलका प्रभावशाली नेताका परिवारका सदस्यहरू रास्वपातर्फ आकर्षित हुनु परिवर्तनको संकेत हो । आगामी दिनमा सुदूरपश्चिमको राजनीतिमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय