काठमाडौं । रबि बालेनबिच सम्झौता हुने निश्चित भएपछी नेपाली कांग्रेस र नेकपा एमालेले आगामी निर्वाचनमा सम्भावित गठबन्धनको तयारीबारे छलफल अघि बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका अभियन्ता कुलमान घिसिङ एउटै मोर्चामा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी अन्तिम चरणमा पुगेको सन्दर्भमा कांग्रेस–एमालेबीच संवाद तीव्र बनेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तत्काल प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएका छन् । तर, वैकल्पिक शक्ति एकीकृत भएर चुनावमा होमिने अवस्था आए प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै निर्वाचनमा कांग्रेस–एमालेबीच अघोषित वा औपचारिक गठबन्धन गरेर अघि बढ्नेबारे छलफल भइरहेको बताइन्छ ।

‘पहिलो प्राथमिकता प्रतिनिधिसभा पुनर्स्थापना हो । तर नयाँ शक्ति मिलेर चुनावमा जाने अवस्था आयो भने २१ फागुनको निर्वाचनमा कांग्रेस–एमालेबीच तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भइसकेको छ,’ स्रोतले भन्यो । गठबन्धन भएमा अघिल्ला निर्वाचनमा आ–आफूले जितेका क्षेत्रमा दाबी गर्ने र बाँकी क्षेत्रमा भागवण्डा गर्ने मोडालिटीमा छलफल भइरहेको जनाइएको छ ।

२०७९ को निर्वाचनमा कांग्रेस र एमालेले फरक–फरक गठबन्धन बनाएर चुनाव लडेका थिए । त्यस निर्वाचनमा कांग्रेस र एमालेले मात्र प्रतिनिधिसभामा १६७ सिट जितेका थिए । यही तथ्यलाई आधार मानेर वैकल्पिक शक्तिलाई बहुमत पुग्न नदिने रणनीतिमा दुई दलको नेतृत्व देखिएको कांग्रेस नेताहरूको भनाइ छ ।

स्रोतका अनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनबाटै चुनावी तालमेलको अभ्यास सुरु गर्ने विषयमा पनि देउवा र ओलीबीच समझदारी बनेको बुझिएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनलाई तालमेलको ‘टेस्ट केस’ बनाउनेबारे छलफल भइरहेको बताइन्छ ।

यता कांग्रेसभित्र भने एमालेसँग चुनावी गठबन्धन गर्न नहुने मत पनि बलियो छ । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला पक्षका नेताहरू अघिल्लो गठबन्धनबाट धोका पाएको भन्दै एक्लै चुनाव लड्नुपर्ने पक्षमा छन् । उनीहरू महाधिवेशन नगरी चुनावमा जानु झनै जोखिमपूर्ण हुने चेतावनी दिइरहेका छन् ।

राजनीतिक वृत्तमा वैकल्पिक शक्तिको सम्भावित एकताले परम्परागत दलहरूलाई नयाँ रणनीति बनाउन बाध्य बनाएको विश्लेषण भइरहेको छ । आगामी दिनमा प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचन कुन दिशातर्फ जाने भन्नेले कांग्रेस–एमाले सहकार्यको स्वरूप तय गर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय