रोल्पा – रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एमाले नेतृको मृत्यु भएको छ । नेकपा एमाले जिल्ला सदस्य अमृता घर्तीको मृत्यु भएको हो । उनी रोल्पा माडी गाउँपालिका–६, कोर्चाबाङकी ४७ वर्षीया निवासी हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, बुधबार दिउँसो आफन्तले चलाएको मोटरसाइकलमा मिनाही बजारबाट हान्निङतर्फ जाँदै गर्दा मिनाही नजिकै दुर्घटना भएको हो। मोटरसाइकल सडकबाट करिब २ सय मिटर तल खस्दा अमृता घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी पुनथोक गाउँमा भएको बिहे भोजबाट फर्कने क्रममा दुर्घटनामा परेकी थिइन्। उनका श्रीमान् तथा एमाले लुम्बिनी प्रदेश सदस्य प्रेमबहादुर घर्तीका अनुसार, दुर्घटनापछि चालक सामान्य घाइते भएका छन् र प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

अमृताको शव जिल्ला अस्पताल रोल्पामा पोस्टमार्टम गरी बिहीबार नै मगर संस्कारअनुसार कोर्चाबाङमा दाहसंस्कार गरिएको छ।

एमाले जिल्ला अध्यक्ष अमृतबहादुर बुढाले विज्ञप्ति जारी गर्दै अमृता घर्तीको निधन पार्टीका लागि “अपूरणीय क्षति” भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय