काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच फेरि गोप्य संवाद सुरु भएको छ ।
स्रोतका अनुसार बालुवाटारस्थित एक निजी घरमा अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र वैकल्पिक शक्तिहरूबीचको सम्भावित सहकार्यबारे केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ ।
उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको संवाद र प्रस्तावबारे ब्रिफिङ गरेलगत्तै घिसिङ बालेनसँग वार्तामा जुटेका हुन् । बैठकमा घिसिङले पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व संरचनाबारे रास्वपाको प्रस्तावमा पुनर्विचार आवश्यक रहेको धारणा राखेका थिए । अस्तित्व समाप्त पार्ने गरी एकता सम्भव नहुने उनको जोड थियो ।
स्रोतका अनुसार बालेन र कुलमानबीच आज बिहान पनि संक्षिप्त भेटवार्ता भएको थियो । त्यसको निरन्तरताका रूपमा अहिले पुनः गोप्य संवाद अघि बढाइएको बुझिएको छ ।
वैकल्पिक राजनीतिक शक्तिहरू एकताका विभिन्न मोडेलमा छलफल गरिरहेका बेला बालेन–कुलमानबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।






