काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र सहकार्यको बहस चर्किरहेका बेला विश्लेषक दिल निशानी मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीचको संवादप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै मगरले कुलमान घिसिङ र बालेन शाहको राजनीतिक तयारी र अनुभवलाई रास्वपा सभापति रवि लामिछानेसँग तुलना गरेका छन् । उनले कुलमान घिसिङको पार्टी खुलेको एक महिना पनि नपुगेको र बालेन शाहको पार्टी कार्यालयसमेत हालसालै मात्र सार्वजनिक भएको उल्लेख गरेका छन् ।
‘कुलमानको पार्टी खोलिएको एक महिना पनि भएको छैन । बालेनको पार्टी कार्यालयको फोटो त हिजो मात्र देखियो,’ मगरले लेखेका छन्, ‘तर रवि लामिछाने भने पार्टी खोलेर मुख्य दलहरूसँग प्रतिस्पर्धा गरेर चुनाव जितेका, संसद र सरकारमा बलियो उपस्थिति जनाइसकेका अनुभवी नेता हुन् ।’
मगरका अनुसार रवि लामिछानेले जेलनेल भोग्दै पनि आफ्नो पार्टीको चुनाव चिन्हलाई जनतामाझ स्थापित गराएका छन्, जुन सजिलो प्रक्रिया होइन । ‘त्यसैले नयाँ पार्टीका मानिसहरूले रास्वपाको चुनाव चिन्ह प्रयोग गर्न पाउनु नै ठूलो कुरा हो,’ उनले टिप्पणी गरेका छन् ।
तर पछिल्ला संवाद र प्रस्तावहरूमा रविभन्दा आफूलाई ठूलो देखाउन खोज्ने ‘बार्गेनिङ’ देखिएको भन्दै मगरले असन्तुष्टि जनाएका छन् । ‘यहाँ रविभन्दा ठूलो मान्छे बन्नका लागि बार्गेनिङ गरेको देखियो,’ उनले लेखेका छन् ।
उनको यो टिप्पणी वैकल्पिक राजनीतिक शक्तिहरूबीच भइरहेको एकता प्रयास, पद बाँडफाँट र नेतृत्वको दाबीलाई लिएर चलिरहेको बहससँग जोडेर हेरिएको छ । सामाजिक सञ्जालमा मगरको टिप्पणीले व्यापक प्रतिक्रिया पनि पाएको छ ।
विश्लेषक दिल निशानी मगर सामाजिक संजाल फेसबुकमा लेख्छन- कुलमानको पार्टी खोलिएको एक महिना पनि भएको छैन। बालेनको पार्टी कार्यालयको फोटो त बल्ल हिजो मात्र देखियो। तर रवि लामिछाने भनेको पार्टी खोलेर, मूख्य दलहरु संग प्रतिस्पर्धा गरेर, चुनाव जितेर, संसद र सरकारमा बलियो उपस्थिती जनाएर अनुभव बटुलिसकेका मान्छे हुन्। रविले जेलनेल भोगेर पनि आफ्नो पार्टीको चुनाव चिन्हलाई जनताको माझमा स्थापित गराएका छन्। त्यसैले नयाँ पार्टिका मान्छेहरुले रास्वपाको चुनाव चिन्ह प्रयोग गर्न पाउनु नै ठूलो कुरा हो। तर यहाँ रविभन्दा ठूलो मान्छे बन्नका लागि बार्गेनिङ गरेको देखियो।






