काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यसको प्रभावस्वरूप तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज तराईका अधिकांश स्थानमा हुस्सु कायम रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।
भोलि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले हुस्सु र कुहिरोका कारण यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।






