रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ। एयरपोर्ट नजिकै स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम भेटिएको हो।

जग खन्दै गर्दा जमिनमुनि विस्फोटक पदार्थजस्तो देखिने वस्तु फेला परेपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए। सूचनापछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु सकेट बम जस्तो देखिएको छ। “सूचना प्राप्त हुनासाथ घटनास्थललाई सुरक्षित घेरामा राखिएको छ,” पुनले बताए।

उक्त शङ्कास्पद बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। राति भइसकेकाले सुरक्षा व्यवस्था कडा पारिएको र आज बिहान सेनाको डिस्पोजल टोलीले बमलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।

सशस्त्र द्वन्द्वको प्रभाव रहेको क्षेत्र भएकाले उक्त विस्फोटक द्वन्द्वकालमै जमिनमा छुटेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि भने सेनाको प्राविधिक टोलीको जाँचपछि मात्र हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय