
साउनको साँझ बिस्तारै रातमा रूपान्तरण हुँदै थियो। सिगास गाउँपालिकाको एक आधारभूत स्वास्थ्य सेवा केन्द्रभित्र भने पीडाको बादल बाक्लिएको थियो।
२० वर्षीया लक्ष्मी धामी तीव्र प्रसव पीडामा थिइन्। छेउमै थिइन् अनमी जानकी पुजारा। उनलाई थाहा थियो — यो रात सजिलो हुने छैन।
रातको ९ बजेतिर, लक्ष्मीले एक नवजात शिशुलाई जन्म दिइन्। तर, वातावरण मौन थियो। त्यो सामान्य नवजात शिशुको रोदन, हल्लिने हातखुट्टा केही थिएन। बच्चाले आँखा त खोल्यो, तर श्वास अत्यन्तै कम थियो, जीवन नाजुक धागोमा झुण्डिरहेको।
अनमी जानकीले तुरुन्त गाउँपालिकाको स्वास्थ्य शाखालाई खबर गरिन्, “बच्चाको अवस्था गम्भीर छ, तत्काल अस्पताल लैजानुपर्छ।” तर जवाफ आयो – रात भएकोले हेलिकप्टर चल्दैन, सडकमा झार्न पनि घण्टौं लाग्छ, त्यो पनि जोखिमा भरिएको।
एक क्षणका लागि अस्पतालको त्यो कोठामा मौनता छायो। लक्ष्मीका आँखा आँसुले भरिएका थिए, कोखबाट निस्केको जीवन आफ्नै अगाडि मर्न लागेको पीडा उनका आँखामा झल्किन्थ्यो।
तर जानकीका लागि त्यो क्षण ‘हुन सक्ने’ कुरा होइन, ‘गर्नैपर्ने’ निर्णयको घडी थियो। उनले अनुभवको भारी उठाइन्, सासको साहस समातिन्।
“मैले अहिलेसम्म वयस्क बिरामीहरूलाई मात्रै कृत्रिम श्वास दिएको थिएँ,” उनले पछि सम्झिइन्, “तर त्यो रात, मसँग शिशुलाई बचाउने अरू कुनै उपाय थिएन।”
र उनले सुरु गरिन् — सानो, निस्सासिएको शिशुलाई मुखबाट श्वास दिने यात्रा।
घण्टौसम्म…
१० बजे…
१२ बजे…
२ बजे…
शरीर थकित, तर हौसला अडिएको।
अन्ततः, बिहान ३ बजेको छेउमा… शिशुले हल्का स्वर निकालेको महसुस भयो। त्यस आवाजसँगै त्यहाँ उपस्थित सबैको शरीरमा एकाएक ऊर्जा भरियो। जानकीका ओठमा मुस्कान फुर्यो, लक्ष्मीका आँखा आँसुको भेल भएर पनि खुसीले चम्किए।
जीवन फर्केको थियो।
शिशु बाँचिएको थियो।
त्यो रात, सिगासको कान्धारमा अस्पतालको एउटा सानो कोठामा एउटा कथा लेखिएको थियो — राज्यको उपेक्षाबीच एउटा नर्सको निष्ठा, एउटा आमाको आस्था र एउटा नवजात शिशुको श्वास फिर्तीको कथा।
त्यो रात अनमी जानकीले केवल एक बच्चा बचाइन् होइन, उनले एउटा गाउँमा विश्वास बचाइन् — कि विपद्को घडीमा पनि मानवता हार्दैन।