मोरङ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदातालाई प्रभावित पार्ने उद्देश्यले नगद वितरण गरेको आरोपमा मोरङको रतुवामाईबाट नेपाली कांग्रेस आबद्ध तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले शनिबार राति करिब ९ः३० बजे रतुवामाई–७ जामवाढी क्षेत्रमा चेकजाँचका क्रममा उनीहरूलाई रोकेको थियो। प्रहरी स्रोतका अनुसार को १ च ७३३८ नम्बरको कार रोकेर जाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रुपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमुना मतपत्र फेला परेको थियो।



नियन्त्रणमा परेकामध्ये रतुवामाई–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली रहेको स्रोतले जनाएको छ। घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू कांग्रेस महाधिवेशन प्रतिनिधि र नेपाली पार्टीका क्रियाशील सदस्य रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार उनीहरूलाई बरामद नगद र प्रचार सामग्रीसहित इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको छ। निर्वाचनलाई लक्षित गरी रकम वितरण भइरहेको सूचना पाएपछि प्रहरी सक्रिय भएको जनाइएको छ।

तर जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले भने घटनालाई सामान्य सोधपुछ र चेकजाँचको रूपमा व्याख्या गर्दै कसैलाई पनि नियन्त्रणमा नराखिएको दाबी गरे। “आचारसंहिताविपरीतको गतिविधिको सूचना आएपछि प्रहरी पुगेको हो। सबै कुरा बुझेर सामान्य सोधपुछ गरी पठाइसकिएको छ,” उनले भने।

यसबीच स्थानीय स्तरमा निर्वाचन नजिकिँदै जाँदा रातिको समयमा गाडी आवतजावत बढेको र मत माग्ने नाममा आर्थिक प्रलोभन दिन खोजिएको चर्चा चलेको थियो।

रतुवामाई मोरङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ। उक्त क्षेत्रबाट नेपाली कांग्रेसका Minendra Rijal, नेकपा (एमाले)का दिलिप बगडिया र राष्ट्रिय स्वतन्त्र पार्टीका Krishna Kumar Karkiलगायत उम्मेदवार रहेका छन्।

निर्वाचन आचारसंहिताविपरीत गतिविधि भए–नभएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक निर्णय लिने जनाएको छ। प्रहरीले मतदातालाई प्रभावित पार्ने गतिविधिबारे सूचना भए तत्काल जानकारी गराउन अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय