शुक्रबार साँझदेखि केही अनलाइन माध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति Rabi Lamichhane र काठमाडौं महानगरका प्रमुख Balen Shah (बालेन)ले भारतीय प्रधानमन्त्री Narendra Modiलाई संयुक्त हस्ताक्षरमा पत्र पठाएको भन्दै दुई पृष्ठको कागजात भाइरल भयो।
उक्त दाबी सर्वप्रथम Nepal Pressमा प्रकाशित समाचारमार्फत बाहिर आएको देखिन्छ। त्यसपछि Jan Aasthaसहित अन्य माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सोही पत्रको आधारमा सामग्री प्रसारण गरे।
दाबी के थियो?
समाचारमा आगामी आमनिर्वाचनअघि नै रास्वपाले सरकार गठनको संकेत गर्दै भारतसँग सहयोग र सहकार्यको अपेक्षा राखेको, साथै बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको उल्लेख गरिएको थियो। पत्रमा सीमा विवाद, द्विपक्षीय सम्बन्ध र संवैधानिक सुधारजस्ता विषय उठाइएको दाबी गरिएको छ।
अनुसन्धानमा के भेटियो?
टेकपाना फ्याक्टचेकले पत्रको प्रामाणिकताबारे अनुसन्धान गर्दा केही महत्वपूर्ण तथ्य फेला परे:
पत्रमा औपचारिक कूटनीतिक लेटरहेड, दर्ता नम्बर वा आधिकारिक छाप थिएन।
बालेन्द्र शाहको भनिएको हस्ताक्षर जुम गरी विश्लेषण गर्दा कपी–पेस्ट गरिएको संकेत देखियो।
सार्वजनिक रूपमा उपलब्ध विभिन्न कागजातमा रहेका बालेनका हस्ताक्षरहरू आपसमा दुरुस्त मेल खाँदैनन्।
तर भाइरल पत्रमा रहेको हस्ताक्षर भने २८ डिसेम्बर २०२५ मा रास्वपासँग भएको सहमतिपत्रमा प्रयोग गरिएको हस्ताक्षरसँग दुरुस्त मेल खाएको भेटियो।
यसबाट एउटै हस्ताक्षर डिजिटल रूपमा उतारेर अर्को कागजातमा राखिएको स्पष्ट संकेत मिल्यो।
साथै रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले पनि सार्वजनिक रूपमा उक्त पत्र पूर्णतः नक्कली र कपोलकल्पित भएको बताएका छन्।
निष्कर्ष
रवि लामिछाने र बालेन्द्र शाहले Narendra Modiलाई संयुक्त हस्ताक्षरमा पत्र पठाएको भन्ने दाबी भ्रामक र असत्य ठहरिएको छ। भाइरल कागजात फोटोशपमार्फत तयार गरिएको नक्कली पत्र भएको पुष्टि भएकाले सो आधारमा प्रकाशित समाचार तथा सामाजिक सञ्जाल पोस्टहरू गलत सूचना हुन्।





