डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुरामा राजनीतिक तरंग उत्पन्न भएको छ। कांग्रेसका प्रभावशाली स्थानीय नेता शेरबहादुर देउवा पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले डडेल्धुराले गन्यापधुरा गाउँपालिकामा आयोजना गरेको गाउँपालिका-स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले औपचारिक रूपमा एमाले रोजेको घोषणा गरेका हुन्। उनी कांग्रेसको मष्टामाण्डौ गाउँ कमिटीका सभापति रहेका थिए।



एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार चक्रप्रसाद स्नेहीलाई विजयी गराउने लक्ष्यसहित देउवासहित करिब एक दर्जन नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

विशेषगरी गन्यापधुरा गाउँपालिका–३ मा देउवाको उल्लेखनीय प्रभाव रहेको बताइन्छ। उनको प्रवेशले स्थानीय राजनीतिक समीकरणमा नयाँ सन्तुलन र प्रतिस्पर्धा थप तीव्र बन्ने आँकलन गरिएको छ।

देउवालाई एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही तथा प्रतिनिधिसभा उम्मेदवार चक्रप्रसाद स्नेहीलगायत नेताहरूले स्वागत गरेका थिए।

स्थानीय स्तरमा यस घटनालाई आगामी निर्वाचनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसबाट लामो समय सक्रिय भूमिका खेलेका देउवाको निर्णयले डडेल्धुराको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय