तेहरान। इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको पुष्टि भएको छ। इरानको सरकारी टेलिभिजन तथा विभिन्न सरकारी–सम्बद्ध मिडिया आउटलेटहरूले उनको मृत्यु औपचारिक रूपमा सार्वजनिक गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था Reutersले इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै आइतबार बिहान इरानी अधिकारीहरूले समेत खामेनीको मृत्यु पुष्टि गरेको जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति Donald Trumpले खामेनी मारिएको दाबी गरेका थिए। सुरुमा इरानी अधिकारीहरूले उनी सुरक्षित रहेको बताएका थिए, तर पछिल्लो पुष्टि अनुसार उनको निधन भएको जनाइएको छ।
शनिबार बिहान United States र Israelले संयुक्त रूपमा Iranमा हमला गरेका थिए। राजधानी तेहरानस्थित खामेनीको निवास नजिकै ठूलो विस्फोटका आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको विवरण सार्वजनिक भएको थियो। निवास आसपासका अन्य भवनहरूमा समेत क्षति पुगेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्।
खामेनीको मृत्युपछि इरान सरकारले ४० दिने सार्वजनिक शोक घोषणा गरेको बताइएको छ।
आक्रमणपश्चात राष्ट्रपति ट्रम्पले इरानी नागरिकहरूका लागि सत्ता आफ्नो नियन्त्रणमा लिने “सुनौलो अवसर” आएको टिप्पणी गरेका थिए।
खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए। उनको निधनसँगै इरानको राजनीतिक संरचना र मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ।






