सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको आदेश सदर गर्दै अधिकारीलाई धरौटीमा रिहा गर्न नमिल्ने ठहर गरेको हो।
यसअघि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो। सोही आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले धरौटीमा छाड्न अस्वीकार गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दामा अधिकारीलाई थुनामा पठाउने आदेश यसअघि नै जारी भइसकेको छ।






