अमेरिकाको Mantua क्षेत्रमा पर्ने मार्गेट म्यानर अपार्टमेन्टमा सोमबार बिहान एक नेपाली पुरुषले आफ्नै परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका छन्।
फेयरफ्याक्स काउन्टी प्रहरी प्रमुख Kevin Davisका अनुसार आक्रमणमा गम्भीर घाइते भएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ भने एक पुरुषको अवस्था गम्भीर रहेको छ।
अमेरिकी अनलाइन NBC Washingtonले जनाएअनुसार घटना बिहान भएको हो। त्यतिबेला ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका थिए। घरभित्रबाट चित्कार सुनेपछि उनी भित्र जाँदा श्रीमती रगताम्य अवस्थामा ढलेको र ससुराले सासूमाथि धारिलो हतियार प्रहार गरिरहेको दृश्य देखेका थिए। उनीमाथि पनि हमला भएको बताइएको छ।
छिमेकीले ९११ मा खबर गरेपछि केही बेरमै प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा आक्रमणकारी हातमा धारिलो हतियार लिएर बसेका थिए। पटक–पटक हतियार राख्न चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले गोली चलाएको र गोली लागेर आक्रमणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा रहेका एक वर्षका शिशु भने सकुशल रहेका छन्। उनलाई हाल बाल संरक्षण सेवाको संरक्षणमा राखिएको छ र परिवारका आफन्तसँग समन्वय भइरहेको बताइएको छ।
न्यूयोर्कबाट सञ्चालन हुने अनलाइन NepYorkका अनुसार आक्रमणकारी ५० वर्षीय छत्रबहादुर थापा हुन्। घटनामा उनकी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको मृत्यु भएको छ। ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत गम्भीर घाइते छन्।
प्रहरीले आधिकारिक रूपमा विस्तृत व्यक्तिगत विवरण सार्वजनिक गरिसकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।






