बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका जिल्ला सभापतिले पार्टी छोडेर नेकपा (एमाले) मा प्रवेश गरेको दाबी गर्दै गरिएको पोस्टले व्यापक चर्चा पाएको छ। उक्त पोस्टमा “देश र राष्ट्रियता जोगाउन एमाले आवश्यक भएकाले औपचारिक रूपमा एमाले प्रवेश गरिएको” दाबी गरिएको छ।
तर, टेकपानाले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक पुष्टि भएको छ। वास्तवमा रास्वपाको झापा जिल्ला सभापति पद विगत करिब एक वर्षदेखि रिक्त रहेको पाइएको छ।



भाइरल दाबी
बिहीबार ५ फेब्रुअरी २०२६ बेलुका ६ः२६ बजे ‘Ramesh Lama/रमेश लामा’ नामक फेसबुक पेजबाट अपलोड गरिएको पोस्टमा “झापा—रास्वपा (घण्टी) का जिल्ला सभापतिले नै पार्टी छाडे, एमाले प्रवेश गरे” भन्ने क्याप्सन राखिएको थियो। समाचार तयार पार्दासम्म उक्त पोस्टमा ३ हजारभन्दा बढी रियाक्सन, ५५५ कमेन्ट र १३८ पटक शेयर भइसकेको थियो।
यस्तै सामग्री ‘कांग्रेस जिताऔं अभियान’ नामक फेसबुक पेज, ‘Laxman Dhami’ नामक प्रयोगकर्ता तथा हालै एमाले प्रवेश गरेका अब्दुल हुसेन अन्सारीलगायतले पनि शेयर गरेका छन्।
अनुसन्धान र तथ्य
टेकपाना फ्याक्टचेक डेस्कले ‘रास्वपा झापा जिल्ला सभापति’, ‘रास्वपा एमाले प्रवेश’ लगायतका किवर्ड प्रयोग गरी खोजी गर्दा झन्डै एक वर्षअघि प्रकाशित समाचारहरू फेला परे। २० फागुन २०८१ मा तत्कालीन जिल्ला सभापति उमेश खरेलले निलम्बनको सिफारिसपछि पदबाट राजीनामा दिएको समाचार विभिन्न अनलाइन माध्यममा प्रकाशित भएका थिए।
रास्वपाको आधिकारिक वेबसाइटमा प्रकाशित झापा जिल्ला समितिको विवरणअनुसार हाल जिल्ला उपसभापति प्रकाश पाठकले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्।
यस विषयमा रास्वपाका प्रवक्ता मनिष झाले टेकपाना फ्याक्टचेक डेस्कलाई भने,
“झापामा रास्वपाको जिल्ला सभापति पद झन्डै एक वर्षदेखि खाली छ। हाल कार्यवाहक सभापतिको भूमिकामा उपसभापति हुनुहुन्छ।”
कार्यवाहक सभापति प्रकाश पाठकले पनि सामाजिक सञ्जालमा फैलिएको प्रचार गलत भएको स्पष्ट पारेका छन्।
भाइरल पोस्टमा एमाले प्रवेश गर्ने भनिएका व्यक्तिको नाम, मिति वा आधिकारिक स्रोत कतै पनि खुलाइएको छैन। निर्वाचन नजिकिँदै गर्दा झन्डै एक वर्ष पुरानो घटनालाई हालसालैको जस्तो देखाएर प्रचार गरिएको पाइएको छ।






