काठमाडौं – चार वटा कम्युनिस्ट घटकहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ।
बिहीबार बसेको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। समितिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्।
आन्दोलनका कार्यक्रम
समितिले फागुन ८ देखि १२ गतेसम्म निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडास्तरसम्म पर्चा वितरण, घरदैलो अभियान तथा कोणसभाहरू गर्ने निर्णय गरेको छ।
यस्तै, फागुन १३ देखि १८ गतेसम्म स्थानीय अनुकूलता हेरी इटहरी, जनकपुर, चितवन, काठमाडौं, बुटवल, दाङ, बर्दिया र धनगढी लगायतका सहरहरूमा बहिष्कार सभाहरू आयोजना गरिने जनाइएको छ।
कट्टेल र बास्तोलाको रिहाइको माग
बैठकले धर्मेन्द्र बास्तोला र ऋषि कट्टेल लाई तत्काल रिहा गर्न माग गरेको छ।
संघर्ष समितिले सुशीला कार्की नेतृत्वको सरकार भन्दै आरोप लगाउँदै उनीहरूलाई पक्राउ गरिएको विषयको विरोध जनाएको छ र अविलम्ब रिहाइको माग दोहोर्याएको छ।
समितिले आफ्नो आन्दोलन शान्तिपूर्ण तर सशक्त हुने जनाएको छ।






