उदयपुर/अमेरिका – उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारका ५० वर्षीय छत्रबहादुर थापा तीन महिनाअघि छोरी–ज्वाइँको निम्तोमा अमेरिका गएका थिए। तर सोमबार बिहान अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीको मान्तुवामा उनले आफ्नै श्रीमती र छोरीको हत्या गरेपछि प्रहरीको गोलीबाट स्वयंको पनि मृत्यु भएको दुःखद घटना सार्वजनिक भएको छ।

परिवार स्रोतका अनुसार थापाले घरभित्रै आफ्नी श्रीमती बिन्दा र जेठी छोरी ममतामाथि खुँडा प्रहार गरेका थिए। त्यसपछि ज्वाइँ सन्तोष कुमार बस्नेतमाथि जाइलाग्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेपछि नियन्त्रणमा लिन खोज्दा थापा नरोकिएपछि गोली चलाइएको बताइएको छ। गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो। ज्वाइँ सन्तोषको अवस्था गम्भीर रहेको जनाइएको छ।



‘किन यस्तो भयो?’—अनुत्तरित प्रश्न

थापाले यस्तो कदम किन चाले भन्ने प्रश्न अहिले अनुत्तरित छ। स्थानीय तहका जनप्रतिनिधिका अनुसार उनी पछिल्लो एक वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। बेलका नगरपालिकाका मेयर अशोक कार्कीले परिवारबाट प्राप्त जानकारी उद्धृत गर्दै भनेका छन् कि थापा नियमित उपचारमा थिए, तर अमेरिका जानुअघि उनी सामान्य देखिन्थे।

वडाध्यक्ष भरत घिमिरेका अनुसार घटना हुनुअघि श्रीमतीसँग घरायसी विवाद भएको सूचना आएको छ। रिसको आवेगमा खुँडा प्रहार गरिएको र आमालाई जोगाउन जाँदा छोरीमाथि पनि आक्रमण भएको अनुमान गरिएको छ।

गाउँमा शोक

थापाको स्थायी घर बेलका–३ भए पनि पछिल्ला १५ वर्षदेखि वडा नं. ९ मा बस्दै आएका थिए। स्थानीयका अनुसार उनी मिलनसार र कम बोल्ने स्वभावका थिए।

घटनाले गाउँमा गहिरो शोक छाएको छ। बुबाआमा अमेरिका गएपछि कान्छी छोरीले हालै विवाह गरेकी थिइन्। माइतीमा पहिलोपटक टिकाटालो गर्ने तयारी भइरहेका बेला यस्तो खबर आएपछि उत्सवको माहोल शोकमा परिणत भएको छ।

मानसिक स्वास्थ्यको पाटो

मनोविद् करुणा कुँवरका अनुसार गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिमा औषधि नियमित नखाने, पारिवारिक विवाद वा मानसिक तनावका कारण एक्कासी आक्रामक व्यवहार देखिन सक्छ।

उनका अनुसार, “कडा खालको मानसिक समस्या भएका व्यक्तिले कहिलेकाहीँ आवेगमा आफैं र अरूलाई हानि पुर्‍याउने घटना देखिन्छ।”

अनुसन्धान जारी

घटनाबारे अमेरिकी प्रहरीद्वारा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ। घटनाले नेपाल र अमेरिकामा रहेका नेपाली समुदाय दुवैलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय