latest
शनिबार , भाद्र १४, २०८२

कुनै समय भारतको एक सानो होटेलमा भाँडा माझ्दै जीवन गुजार्थे प्रकाश भुजेल। सिन्धुपाल्चोकको ज्यामिरेमा १९ फागुन २०४५ माजन्मिएका उनी, गाउँको स्कुलमा ४ पढदा पढ्दै छोडेपछि बसमा सहचालक बने, कहिले खच्चड धपाउने त कहिले चिया बेच्ने काम गरेर पेट पाल्थे। माओवादी शिविरसम्म पुगेका उनी फेरि भागेर सामान्य जीवनतिर फर्किए। जिन्दगीले उनलाई कहिल्यै स्थायी ठेगाना दिएन।

तर, कोरोनाको लकडाउनले सबैलाई घरभित्र थुनेको बेला उनी भने मोबाइल स्क्रिनमार्फत बाहिर आए। आफूलाई ‘झाँक्री’ भनेर चिनाए। धागोले हड्डी नचाउने नाटक गरे, अन्धोलाई ज्योति फर्काउने, कान नसुन्नेलाई सुनाइदिने दाबी गरे। समाजमा “एउटापल्ट हेरौँ न त” भन्ने संस्कारले उनका डेरासम्म भिड तान्यो। भिडले भिड तान्यो। अनि सुरु भयो प्रकाश भुजेलको नयाँ अध्याय—सामाजिक सञ्जालको ‘झाँक्री स्टार’।
भारतको एउटा होटेलमा भाँडा माझ्दै गुजारा चलाउने युवक थिए—प्रकाश भुजेल।

आज उनी ‘झाँक्री’, ‘धर्मगुरु’ र ‘डाक्टर’का नाममा चर्चामा छन्। कार चढ्छन्, बडीगार्ड लिएर हिँड्छन्, युट्युबर पाल्छन्। कहिल्यै मसानको हड्डी नचाउने दाबी गर्छन्, कहिले स्टेथोस्कोप झुन्ड्याएर बिरामी जाँच्छन्।

तर, यो यात्रा कसरी सम्भव भयो?

सिन्धुपाल्चोकको ज्यामिरेमा १९ फागुन २०४५ मा जन्मिएका प्रकाश भुजेल पढदा पढ्दै पढाइ छाडे। बसको सहचालक भए, कहिले चालक, कहिले खच्चड धपाउने। दाजुको पसलमा काम गरे, भारत पुगे—त्यहाँ भाँडा माझे। पछि काठमाडौं आएर ठेलामा चिया बेच्ने, पेन्टिङ गर्ने काम गर्दै पेट पाल्थे।

लकडाउन सुरु भयो, मानिस घरभित्र। समाजमा स्वास्थ्य र मृत्युको डर छायो। यही बेला मोबाइल स्क्रिनमा देखा परे प्रकाश भुजेल—झाँक्री।

उनी रोग निको पारिदिने दाबी गर्दै लाइभमा आउँथे। “कान नसुन्नेलाई सुनाइदिन्छु, आँखा नदेख्नेको ज्योति फर्काइदिन्छु, क्यान्सर नै निको पार्छु।” सोझासिधा मानिसहरू “एउटापल्ट हेरौँ न त” भन्दै उनका डेरासम्म पुग्न थाले। भिडले भिड तान्यो।

युट्युबरले उनलाई भेटे। गफ दिन माहिर थिए भुजेल, भिडियो रोचक बन्थ्यो। क्यामेरा अगाडि चमत्कार गर्ने, भीडलाई भावुक बनाउने, अनि भ्युज बटुल्ने। यसरी सुरु भयो उनको सोसल मिडिया यात्रा।

उनको ‘इन्ट्री’ नै शंकास्पद थियो। तीन वर्षअघिको भिडियोमा उनी साथी उज्ज्वल बस्नेतसँग मसानको हड्डी नचाउने दाबी गर्छन्। तर, वास्तविकता धागोको सहायताले हड्डी घुमाइएको थियो। आम मानिसले देख्दा चमत्कार लाग्थ्यो, तर यो ठगी मात्र थियो।

त्यसै समय उनले बिरामी निको पारिदिने भन्दै प्रतिव्यक्ति तीन हजार रुपैयाँ लिने गरेको पीडितहरूले टिकटकमै गुनासो गरे। प्रशासनले निगरानी बढाएपछि उनले पैसा “स्वतस्फुर्त चढेको” भनेर बचाउ गर्न थाले।

हालै भारतको ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरसिप एन्ड म्यानेजमेन्ट स्टडिज’ नामक संस्थाले उनलाई मानार्थ डाक्टर प्रमाणपत्र दियो। त्यो पनि बाबाजीको हातबाट।

प्रमाणपत्रमै उनको नाम Prakashको सट्टा Prakesh लेखिएको थियो। अझ अचम्म, प्रमाणपत्रमा उल्लेख गरिएको ‘Autonomous Virtual Mode University’ भन्ने विश्वविद्यालय नै इन्टरनेटमा छैन। कुनै वेबसाइट छैन, कुनै मान्यता छैन।

तर, प्रकाश भुजेलले भोलिपल्टैदेखि आफूलाई Dr. Prakash Bhujel भनेर प्रचार गर्न थाले। स्टेथोस्कोप झुन्ड्याएर बिरामी जाँच्न थाले।

यहीँबाट विवाद चुलियो।

डाक्टर बन्न तीन बाटो छन्— चिकित्सक : एमबीबीएस/बीएएमएस पास गरेर इन्टर्नसिप र लाइसेन्स परीक्षा पास गर्नुपर्छ। पीएचडी : अनुसन्धान गरेर नयाँ ज्ञान थप्ने, तर बिरामी जाँच्न नपाउने। मानार्थ डाक्टर : विशेष योगदानका आधारमा प्रतिष्ठित विश्वविद्यालयले मात्र दिने सम्मान, शैक्षिक योग्यता होइन।

भुजेललाई उपाधि दिने भनिएको इन्स्टिच्युट आफैँ विश्वविद्यालय होइन। विभिन्न तालिम चलाउने संस्था हो, जसले सम्मान बेच्ने गरेको आरोप छ।

भुजेलका विवाद यहाँसम्म सीमित छैनन्।

गत वर्ष सवारी ज्यान मुद्दामा पक्राउ परेर केही महिना जेल बसे।

उनले कसैको गम्भीर रोग निको पारेको प्रमाण छैन।

बरु, पैसा असुली गरेको, ठगेको भनेर पीडितहरूकै गुनासो छ।

कहिले भिडियोमा गरिबलाई सहयोग गरेको नाटक गर्छन् ,उनले दावा गरेका ‘दैवी शक्ति’ले दुर्घटनामा ज्यान जाने कुरा रोक्न सकेन, घाइतेलाई बचाउन सकेन।

भुजेल चर्चामा हुनुको अर्को कारण हो—युट्युबर। व्यावसायिक पत्रकारलाई भ्युजको चिन्ता हुँदैन, तर युट्युबरलाई भ्युजकै लागि पात्र चाहिन्छ। भ्युज आयो भने डलर आउँछ। कतिले त भुजेलबाट पैसा पनि लिन्छन्।

त्यसैले उनको अगाडि आधा दर्जन माइक देखिन्छन्, तर ती माइक व्यावसायिक मिडियाका होइनन्—युट्युबरहरूको।

उनले तिनै युट्युबरलाई ‘पत्रकार’ भन्छन्, अनि उनीहरूको बुम र भिड देखाएर आफूलाई शक्तिशाली देखाउँछन्।

भुजेल दुई विवाह गरेका छन्। पहिलो श्रीमती विदेश गएर फर्किनन्, उनीबाट एक छोरी छन्। दोस्रो श्रीमती अहिले उनीसँग बस्छिन्।

युवावस्थामा माओवादी छापामार बने, तर भागे। गोरखामा दाजुको पसल, सिन्धुपाल्चोकमा बस, भारतमा भाँडा माझ्ने—सबै काम पार गरे।

एक दिन एक महिलाले उनलाई “तिमीभित्र भगवान छ” भनिन्, झारफुक गर्न आग्रह गरिन्। त्यसपछि उनलाई लाग्यो—आफूमा दैवी शक्ति छ। यही भ्रमबाट सुरु भयो झाँक्रीको कथा।

नेपालमा झाँक्री परम्परा पुरानो छ—गुरु–शिष्य, संस्कार, समुदायको स्वीकृति। तर, भुजेलको शैलीमा अनुभवी झाँक्रीहरू पनि असहज भए।

उनी यति बढे कि ‘मानव सेवा संस्कृति पूजा केन्द्र’लाई ‘तान्त्रिक झाँक्री संघ’मा रूपान्तरण गरे। झाँक्री मात्र नभएर धर्मगुरु बने, अनि डाक्टर पनि।

उनकी आमाले समेत पत्याइन्—“अनपढ छोरा अब डाक्टर भएको छ”। सोझा मानिसले पनि त्यही मानिरहेका छन्।

प्रकाश भुजेलको कथा केवल उनको मात्र होइन, हाम्रो समाजको प्रतिबिम्ब हो।

हामी किन हल्ला र भ्युजलाई प्रमाणपत्रभन्दा ठूलो ठान्छौँ?

किन चमत्कारको खोजीमा ठगीलाई पवित्र ठान्छौँ?

युट्युबरहरूको ‘व्यवसायिकता’ले यस्ता पात्रलाई अझै ठूलो बनाएर समाजलाई भ्रममा पारिरहेकै होइन र?

सिन्धुपाल्चोकको साधारण युवक सामाजिक सञ्जालको लहर चढेर बडीगार्ड, कार, ‘डाक्टर’सम्म पुगे। तर, त्यो सफलता योगदान वा मिहिनेतको नभई—भ्रम बेच्ने कला हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय