चितवनको सिमलतालमा गत असार २८ गते बिहान नारायणगढ-मुग्लिङ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भएको दुईवटा बस दुर्घटनाबारे अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखक समक्ष्य प्रतिवेदन पेश गरेको छ ।
गृहमन्त्री लेखक पदवाहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएका थिए ।
कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा सुझाव पनि दिएको छ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जन र धनको क्षति भइरहेकोप्रति चिन्ता जनाए ।
गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलको सुझाव मन्त्रालयले पनि कार्यान्वयनका साथै अरु निकायलाई पनि निर्देशन दिने बताए ।
‘यो गम्भीर र संवेदनशील विषय छ,’ मन्त्री लेखकले भने, ‘जहाज दुर्घटना भए आयोग र समिति बनाउने, दुर्घटनाबारे जानकारी लिने, छानबिन हुने गर्थ्यो । सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।’
सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए । ६२ जना बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझी अध्ययन कार्यदल बनाएको उनले बताए ।
के भन्छ कार्यदल ?
प्रतिवेदनमा सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढी र भरतपुर महानगरपालिकाले इन्जिनियरिङ डिजाइनबिना खनिएको सडकलाई मानिएको छ ।
उक्त ग्रामीण सडकबाट आएको भेलाबाढीका कारण दुई वटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदलले निकालेको छ ।
प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृहमन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ-डिजाइन बिना नै ग्रामीण सडक खनेको बताए ।
‘दुर्घटनास्थलमा ठुलो मात्रामा ‘डेब्रिज’ (गेग्रान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर पनि छ’, उनले भने, ‘उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा-पर्खाल लगाएको पनि देखिँदैन ।’
दुर्घटनामा परी नदीमा हराएका यात्रु मध्ये २४ जना शव फेला परेपनि ४० जनाको अवस्था अझै अज्ञात । दुर्घटना लगत्तै सुरक्षा निकाय खोजीकार्यमा हालसम्म पनि सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ।
दुर्घटनाका कारणहरू
१. इन्जिनियरिङबिनाको ग्रामीण सडक
कार्यदलले दुईवटा बस दुर्घटनाको मुख्य कारण मुग्लिङ-नारायणगढ सडकसँगै जोडेर उत्तरतर्फ लग्ने गरी खनिएको ग्रामीण सडकलाई मानेको छ ।
अत्यन्त भिरालो पहाडी क्षेत्रमा इन्जिनियरिङ र डिजाइनबिना सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ ग्रामीण सडक खनिएको प्रतिवेदनमा छ । त्यही सडकबाट बाढीले ल्याएको गेग्रान (डेब्रिज) ले बसलाई बगाएर त्रिशूलीमा झारेको प्रतिवेदनमा भनिएको छ।
डोजरले भिरालो स्थानमा ग्रामीण सडक बनाउँदा निस्किएको माटो र ढुंगा मुख्य राजमार्गको माथिल्लो भागमा अलपत्र छाडेकाले दुर्घटनाको कारण बनेको प्रतिवेदनमा छ । त्यही माटोलाई बाढीले सोहोरेर ल्याएपछि ठूलो रुपमा लिँदा बसलाई बगाएको प्रतिवेदनमा लेखिएको छ ।
‘ग्रामीण सडक बनाउँदा ‘कट एण्ड फिल एप्रोच’मा नगरी कङ्क्रिटबाट मात्रै सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा बेवारिसे फ्याँकिएको पाइयो, त्यही माटो पनि बस बगाउने कारण बन्यो’, कार्यदलले भनेको छ ।
२. एकीकृत सूचना प्रणाली अभाव
कार्यदलले देशकै मुख्य राजमार्ग भए पनि सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणाली अभाव रहेको जनाएको छ। एकीकृत सूचना प्रणाली अभावमा सडकको अवस्थाबारे सुरक्षा निकाय र बस चालकलाई जानकारी पुग्न नसकेको पनि कार्यदलले भनेको छ । असार २८ गते त्यसक्षेत्रको सडकको अवस्थाबारे समयमा सूचना दिन सकेको भए दुर्घटना टर्ने निष्कर्ष पनि कार्यदलले निकालेको छ ।
प्रतिवेदनले लगातारको बर्षाका कारण बाढी र पहिरोले उच्च जोखिममा रहेको उक्त सडकमा बस लैजाँदा चालकले पनि सुरक्षामा ध्यान नदिएको पनि जनाएको छ ।
३. कल्भर्ट सफाइमा लापरबाही
नारायणगढ-मुग्लिङ सडकबाटै सिन्दूरे खोल्साको पानी निकास हुने कल्भर्ट सफाइमा हेलचेक्राइँले पनि बसलाई बगाउन बल पुगेको प्रतिवेदनमा लेखिएको छ । भरिएको कल्भर्ट सफा गरेको अवस्थामा माथिबाट बगाएको लेदो सडकतिर आएको जनाइएको छ।
उक्त कल्भर्ट असार ८ मै आएको बाढीले थुनिए पनि सफा नगरेको पाइएकव कार्यदलले भनेको छ। दुईवटा बस त्रिशूलीमा खसेको असार २८ गते बिहान पनि उक्त कल्भर्ट लेदोले भरिएकै अवस्थामा रहेको प्रतिवेदमा भनिएको छ।
४. जथाभावी खनियो ग्रामीण सडक
स्थानीय सरकार अर्थात् भरतपुर महानगरपालिकाले डोजर लगाएर खनेको ग्रामीण सडक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी खनिएको पाइएको पनि कार्यदलले जनाएको छ ।
‘ग्रामीण सडक वातावरणीय प्रभावलाई ख्याल नै नगरी खनेको भेटियो’, कार्यदलले भनेको, ‘कमजोर भूगोल भएको उक्त स्थान अति नै भिरालो छ । भिरालोमा बाढीले माटो र लेदो सोहोरेर ल्याउँदा बस पनि त्रिशूलीमा खस्न पुगे ।’
५. सुरक्षाबिना सडक बनाइयो
कार्यदलले ग्रामीण सडक खनेपछि तल्लोतर्फ त्यसलाई सुरक्षा दिने विधिको प्रयोग नभएको जनाएको छ । उक्त सडकलाई टेवा दिन पर्खाल नबनाइएको पाइएको पनि प्रतिवेदनमा छ । ग्रामीण सडकलाई टेवा नदिएइकाले वर्षामा पहिरो झरेर माटो र लेदो बगाउँदै राजमार्गमा ल्याएपछि बस पनि त्यसमै परेको कार्यदलले जनाएको छ ।
भरतपुर महानगरले खनेको ग्रामीण सडकमा टेवा पर्खाल नलगाउँदा भासिएर लेदोको स्रोत बनेको प्रतिवेदनले भनेको छ । त्यही लेदोलाई बाढीले बगाउँदै सिन्दूरे खोल्सामा ल्याएपछि त्यहाँबाट मुग्लिङ–नारायणगढ सडकमा सोहोरेर झारेको कार्यदलले निष्कर्ष निकालेको छ ।
प्रतिवेदनले सिन्दूरे खोल्सामा बनाइएको चेक ड्याम र ग्याबिन वालले भार थाम्न नसकेको पनि प्रतिवेदनमा छ । त्यहीकारण बाढीले ल्याएको लेदो र गेग्रानले सडक छोप्दै दुवै बसलाई धकेलेर त्रिशूलीमा झारेको प्रतिवेदनमा भनिएको छ ।