काठमाडौँ — बहुविवाहको मुद्दामा अदालतबाट एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय पाई फरार रहेका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले मंगलबार काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको छ।
ताप्लेजुङका स्थायी निवासी शेर्पा एमालेको जनजाति महासंघका अध्यक्षसमेत हुन्। जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ मा २०६२ असार २९ मा करिश्मा खरेलसँग,तथा २०६३ मंसिर २८ मा पूजा परियारसँग विवाह गरेको प्रमाण देखाउँदै शेर्पालाई बहुविवाह कसुरमा दोषी ठहर गरेको थियो।
यसअनुसार अदालतले उनलाई १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो। शेर्पाले उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि फैसला सदर भएको थियो।
तर अदालतको आदेश कार्यान्वयन नगरी शक्तिको आडमा फरार जस्तै बस्दै आएकामा मंगलबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए।
पछिल्लो समय शेर्पा—एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा टोलीमा सक्रिय,तिहारका बखत पनि सुरक्षा जिम्मेवारीमा तैनाथ, जेनजी आन्दोलनपछि ओलीको पक्षमा कडा अभिव्यक्ति दिने नेता रूपमा पहिचान बनाइरहेका थिए।
यिनै शेर्पा अदालतको सजायबाट जोगिँदै हिँडिरहेको आरोपपछि अन्ततः प्रहरीले पक्राउ गरेको हो।
उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए ।
यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् ।





