
एकता शिशु निकेतनमा २०८० फागुन १२ मा आत्महत्या गरेकी छात्रा शालीन पोखरेलको आत्महत्या दुरुत्साहनको अभियोग लागेका प्राचार्यसहित तीन शिक्षकले सफाइ पाएका छन् ।
विद्यालयको छात्रावासमा बसेर पढ्दै आएकी बालिका पोखरेलले गरेको आत्महत्यामा विद्यालयका प्राचार्य, होस्टल वार्डेन र शिक्षकको कुनै भूमिका नरहेको, आत्महत्या दुरुत्साहनको अभियोग पुष्टि नहुने भन्दै जिल्ला अदालत चितवनले तीन शिक्षकलाई सफाइ दिएको हो । सफाइ पाउनेमा प्राचार्य बालहरी देवकोटा र दुई शिक्षक किरणबहादुर अधिकारी र किरणप्रसाद शर्मा छन् ।
२०८१ चैत ४ गते नै फैसला भएपनि पूर्णपाठ भने केही दिनअघि मात्रै आएको हो । जिल्ला अदालत चितवनका न्यायाधीश ध्रुवकुमार ढकालको एकल इजलासले गरेको फैसलामा मृतक १५ वर्षकी बालिका पोखरेलका बाबु दीपेन्द्र पोखरेल र उनी पक्षका कानून व्यवसायीले गरेका बलात्कारपछि हत्याको आरोप शंकाको आधारमा लगाइएको भनिएको छ । भने, जिल्ला सरकारी वकिल कार्यालयले लगाएको अभियोजन आत्महत्याको दुरुत्साहन पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण नभएको भन्दै सफाइ दिने फैसला गरिएको छ ।
के थियो घटना ?
चितवनको रत्ननगर नगरपालिकाको-१० मा रहेको एकता शिशु निकेतनमा २०८० सालको फागुन १२ गते १५ वर्षकी विद्यार्थी शालीन पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । विद्यालयको होस्टलमा बस्दै आएकी ती बालिकाका परिवारले शिक्षकहरुले जबरजस्ती करणीपछि हत्या गरेको आरोप लगाए, नाराजुलुस गरे ।
चितवनको प्रहरीले विद्यालयका प्राचार्यसहितका शिक्षकलाई बलात्कारको अभियोगमा जाहेरी लिन नमानेको आरोपमा चितवनका काठमाडौंमा समेत नाराजुलुस तथा प्रदर्शन, पत्रकार सम्मेलन भयो । चितवनको भरतपुर अस्पतालमा पोष्टमार्टम गर्दा विश्वसनीय नहुने भन्दै पोखरेलका परिवारले काठमाडौंको टिचिङ अस्पतालमा बालिकाको शव लगेर पोष्टमार्टम गरे ।
उनीहरूले अन्तिमसम्म पनि विद्यालयका प्राचार्य, होस्टल वार्डेन र बालिकाका कक्षा शिक्षकले हत्या गरेको आरोप लगाए । लामो दबाब र रस्साकस्सी पछि प्रहरीमा बाबु दीपेन्द्र पोखरेलले बलात्कारपछि हत्याको अभियोगसहित जाहेरी दिए ।
सोही आधारमा प्राचार्य बालहरी देवकोटासहित शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्मालाई प्रहरीले हिरासतमा लियो । तर, जिल्ला सरकारी वकिल कार्यालय चितवनले प्रहरी अनुसन्धान प्रतिवेदनबाट बलात्कारपछि हत्याको पुष्टि हुने आधार नभएको भन्दै आत्महत्या दुरुत्साहनको अभियोग लगाएर जिल्ला अदालत चितवनमा २०८० चैत ४ गते मुद्दा दायर गर्यो ।
परिवारका सदस्यले भने सरकारी वकिलको अभियोजनमा नै प्रश्न उठाएका थिए । निवेदक बाबु दीपेन्द्र पोखरेलले प्रहरी बयान र अदालतको बकपत्रमा पनि आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका थिए ।
मुद्दा दर्ताको वर्ष दिनपछि २०८१ चैत ११ गते जिल्ला अदालत चितवनले मुद्दाको फैसला गरेको छ । जिल्ला तीनजना शिक्षकहरूविरुद्ध बालिकाकाका परिवारले लगाएको जस्तो बलात्कारपछिको हत्यामात्रै होइन सरकारी वकिल कार्यालयले लगाएको आत्महत्या दुरुत्साहनको अभियोग पनि पुष्टि हुने आधार नभएको जिल्ला अदालतले फैसला गरेको छ ।
जिल्ला अदालत चितवनको न्यायाधीश ध्रुवकुमार ढकालको एकल इजलासले गरेको फैसलाको पूर्ण पाठमा भनिएको छ, अनुसन्धान प्रतिवेदन, घटना विवरण मुचुल्का, शव पोष्टमार्टम रिपोर्टले आत्महत्या दुरुत्साहन पुष्टि गर्दैन । बाबु दिपेन्द्र पोखरेलले शंका र अनुमानको आधारमा बलात्कारपछि हत्याको आरोप लगाएका देखिन्छ । र, आत्महत्या दुरुत्साहनमा अभियोजन पनि पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण देखिँदैन ।
फैसलामा अदालतले लिएका ७ आधार
जिल्ला अदालत चितवनकै फैसला अनुसार सर्वोच्च अदालतले अहिलेसम्म आत्महत्या दुरुत्साहनमा नजिर स्थापित गरेको छैन । त्यसैले यस मुद्दामा अपराध संहिता २०७४ को दफा ३५ मात्रै आकर्षित हुन्छ र सोही आधारमा फैसला गर्नुपर्ने फैसलामा उल्लेख छ ।
जिल्ला अदालत चितवनले ७ वटा आधार उल्लेख गरी आत्महत्या दुरुत्साहन पुष्टि नहुने फैसला गरेको देखिन्छ । जसमा पीडित बालिकाका परिवारले बयानमा बलात्कारपछि आत्महत्या आरोप लगाएपनि प्रहरी बयानदेखि अदालतको बकपत्रसम्म तीन शिक्षकले पूर्ण रुपमा इन्कारी बयान दिएका छन् ।
दोस्रो नम्बरमा बाबुआमा दुबै विदेशमा रहेको हजुरआमाले रेखदेख गर्ने गरेको उल्लेख छ । बाबु दिपेन्द्र पोखरेलले २०८० कात्तिकमा मोबाइल बैंकिङबाट एकपटक मात्रै पैसा बुझाएको उल्लेख छ । विद्यालयका कर्मचारी शिक्षक तथा वार्डेन सबैले विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना नदिने बयान दिएको उल्लेख छ । अदालतले ६ जना साथी र ११ जनाको बयान लिएको थियो ।
अर्को आधार भने मृत्युको प्रकृति, घटनास्थलको मुचुल्का, शालीनको डायरीले पनि आत्महत्याको लागि दुरुत्साहन नगरेको ठहर गरिएको छ । अस्पतालले दिएको शवको पोर्टमार्टम रिपोर्टलाई लिइएको आधारमा बायाँ गालामा ददारिएको जस्तो २ वटा चोट, दुबै आँखा बन्द, चस्मा लगाइ राखेको, घाँटीमा भी सेपको डोरीको डाम, मलद्वारबाट दिसा र योनीबाट पिसाव निस्किएको, शव परीक्षणको रिपोर्टबाट पनि झुण्डिई आत्महत्या भएकोमा विवाद छैन भनिएको छ । सोही बुँदामा चाउचाउ चोरी गरेको भेटिएपनि साथीहरुले कतै उजुरी नगरेकाले आत्महत्याको दुरुत्साहन भन्न नमिल्ने उल्लेख गरिएको छ ।
अर्को महत्वपूर्ण आधारको रुपमा विशेषज्ञबाट जाँच गरेर शालीनकै भनि पुष्टि गरिएको डायरी नोटलाई लिइएको छ । जहाँ शालीनले रोमन अक्षरमा, सरी एभ्रीबडी मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मीबाबा लाई याद गर्याछे भन्दिनू । आइएम सरी, लेखेकी थिइन् ।
त्यतिमात्रै होइन उनले लेखेको नोटबुकको दुईवटा पेज जहाँ तीजमा घर जान नपाएको र आमासँग पैसा नभएको बुबासँग माग्नुपर्ने उल्लेख छ । त्यतिमात्रै होइन फैसलामा उल्लेख भएअनुसार उनले आफ्नो दुःखको कारणमा उल्लेख गरेका ७ जनाको नाममा एकजना आफ्नै बाउ लेखेकी छिन् । बाबुआमाको सम्बन्ध विच्छेद भएको र दुबैजना विदेश बस्ने भएकोले पारिवारिक परिस्थितीबाट बालिका विचलित भएको हुनसक्ने उल्लेख छ ।
र, बाबु दीपेन्द्र पोखरेलले लगाएको आरोपलाई स्वभाविक रुपमा लिँदै आरोपको भार पुष्टि गर्ने कागजात वादी पक्षले जुटाउनुपर्ने भएपनि बाबु दीपेन्द्र पोखरेलकाे बकपत्र बाहेक अरु केही प्रमाण जुटाएको नपाइएको उल्लेख फैसलामा गरिएको छ । मृत्युको कारण पोष्टमार्टमा रिपोर्टले ह्याङ्गिङ भनेकोले त्यसबाहेक पुष्टि गर्ने स्वतन्त्र प्रमाण नभएको उल्लेख गर्दै तीन शिक्षकलाई सफाइ दिने फैसला गरिएको उल्लेख छ ।