काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमाओवादी नेता जनार्दन शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्व लिन स्पष्ट इच्छा व्यक्त गरेको खुलासा भएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, भट्टराई–शर्माले रास्वपाको नेतृत्व, संयुक्त राजनीतिक संरचना र आगामी निर्वाचनका लागि सहकार्यबारे प्रस्ताव अघि सारेका छन्। झाले भने—“नेतृत्व लिन इच्छुक हुनु स्वाभाविक हो, तर अरुलाई नेता मान्न नसक्ने व्यक्ति नेता हुन सक्दैन।”
आज बिहान रास्वपा कार्यवाहक सभापतिसहितका नेताहरूले भट्टराई–शर्मासँग काठमाडौंमा भेटघाट गरेका थिए। यही भेटपछि दुवैले रास्वपाको आगामी नेतृत्वमा आफूहरू भूमिका लिन तयार रहेको इच्छा प्रस्ट पारेको बताइएको छ।
यी घटनाक्रमबीच रास्वपाको विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। बैठकमा केन्द्रीय समिति, विभागहरू, प्रदेश सचिवालय, जिल्ला र पालिका अध्यक्ष गरी ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्।
प्रवक्ता झाका अनुसार, बैठकमा राजनीतिक पुनर्संरचना सांगठनिक सुधार निर्वाचन रणनीति सम्भावित राजनीतिक गठबन्धन र अब चर्चामा आएको नेतृत्वको प्रश्न यी सबै विषय एजेन्डाको केन्द्रमा रहनेछन्।
‘नेतृत्व परिवर्तन एजेन्डामा छैन, तर प्रतिनिधिले उठाउन पाउनेछन्’
झाले भने—“नेतृत्व परिवर्तन औपचारिक एजेन्डा होइन। तर प्रतिनिधिहरू स्वतन्त्र रूपमा नेतृत्व, संगठन, निर्वाचन, वाचापत्र जस्ता विषयमा विचार राख्न पाउनेछन्।”
यसका कारण भट्टराई–शर्माले देखाएको नेतृत्व इच्छाबारे विस्तारित बैठकमा गहिरो बहस हुने धेरैको अनुमान छ।
यसअघि रास्वपाले फागुन ७, ८, ९ मा महाधिवेशन गर्ने भनेको थियो। झाका अनुसार, अब महाधिवेशनको मिति पनि यसै विस्तारित बैठकले पुनः निर्धारण गर्नेछ।
भट्टराई–शर्मासँगको भेटमा नेतृत्व परिषद् गठन, संयुक्त चुनावी सहकार्य,राजनीतिक एलायन्स जस्ता विभिन्न मोडालिटीमा छलफल भए पनि निष्कर्ष भने निस्किएको छैन।
झाले भने—“हामी अहिले प्रस्ताव सुन्ने र छलफल गर्ने चरणमा छौँ। विस्तारित बैठकपछि मात्र ठोस दिशानिर्देश दिनेछौँ।”





