काठमाडौँ — अभिनेत्री वर्षा राउतको वैवाहिक जीवनमा देखिएको तनाव अहिलेका लागि साम्य भएको संकेत मिलेको छ। वर्षा र उनका श्रीमान् सन्जोग कोइराला दुवैले पछिल्ला दिनमा सार्वजनिक सन्देशमार्फत सम्बन्ध सामान्यतर्फ फर्किएको जनाएका छन्।
केही दिनअघि वर्षाले इन्स्टाग्राममा श्रीमानको अन्य युवतीसँगको निकटता देखिने प्रमाणसहितको पोस्ट गर्दै आफ्ना फ्यान र समर्थकलाई एकाएक आश्चर्यचकित बनाएकी थिइन्। सन्जोगले भने फेसबुकमा भावनात्मक प्रतिक्रिया दिँदै आफ्नो पक्ष राखेका थिए।
त्यसपछि उनीहरूको दाम्पत्य जीवन तनावपूर्ण बन्दै गएको चर्चा चलेका थिए। तर अहिले दुवैबीच विश्वासको वातावरण पुनः बनेको दाबी गरिएको छ।
नयाँ फिल्म ‘हर्ष’ को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित वर्षालाई पत्रकारहरूले विवादित इन्स्टा–पोस्टको विषय उठाउँदा उनले प्रत्यक्ष टिप्पणी गर्न चाहिनन्।
तर सोही कार्यक्रममा सञ्चारकर्मीलाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो भनिन्—
“एकदमै इमोसनल भएको फेज थियो त्यो। १५ मिनेटपछि हामी सबै शान्त भइसकेका थियौँ। तर पोस्ट सर्कुलेट भएपछि ठूलो भयो। अहिले दुवै जना गुड स्पेसमा छौं। हेर्दै जाउँ के हुन्छ।”
उनले पारिवारिक समर्थनले परिस्थितिलाई सहज बनाउन ठूलो भूमिका खेलेको बताइन्।
केही युट्यूब च्यानलले वर्षाको शरीरमा देखिएको धर्सालाई कुटपिटको डाम भन्दै सनसनीपूर्ण समाचार बनाएको विषयमा वर्षाले कडा आपत्ति जनाएकी छन्।
उनले नयाँ स्टाटस पोस्ट गर्दै भनिन्—
हातको धर्सा पहिले नै थियो,
केही मिडियाले पोखेका कुराहरू गलत र भ्रमपूर्ण छन्।
सन्जोगले पनि फेसबुकमा वर्षाको नयाँ फिल्म ट्रेलर सेयर गर्दै सबै कुरा सामान्य भइसकेको संकेत दिएका छन्।
सन्जोगको भावनात्मक प्रतिक्रिया : ‘साँचोभन्दा प्रस्तुति ठूलो’
सन्जोगले आज अर्को पोस्ट गर्दै, सामाजिक सञ्जालमा निराधार हल्ला र सनसनी फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उनका शब्दहरू यसरी छन्—
“देखेको कुरा सत्य हुँदैन, भएको कुराको तथ्य खोजिदैन… यस युगमा साँचोभन्दा प्रस्तुति ठूला छन्। भावनाहरू लाइक, भ्युज र एन्गेजमेन्टमा मापिन्छन्। हुँदैन भन्ने कुरालाई पनि सनसनी बनाइन्छ।”
अन्त्यमा उनले आफूलाई गलत बुझ्नेहरूले Unfollow गर्न स्वतन्त्र भएको उल्लेख गरे।





