काठमाडौँ — सहरी विकास, ऊर्जा तथा जलस्रोत र भौतिक पूर्वाधार–यातायातसहित तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भनी फैलिएको समाचार पूर्ण रूपमा असत्य रहेको स्पष्ट पारेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै घिसिङले भने— “विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित ‘म राजीनामा दिन लागेको’ भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसमा कुनै पनि सत्यता छैन।”
उनका अनुसार, जेन–जी आन्दोलनले दिएको ऐतिहासिक जनादेश र जनविश्वास पूरा गर्न उनले निरन्तर जिम्मेवारी निर्वाह गरिरहेका छन्।
घिसिङले थप लेखे—“जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको यो सरकारले जनताको आशा पूरा गर्ने संकल्प लिएको छ। म तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न निरन्तर क्रियाशील छु।”
हाल सरकार र मन्त्रिमण्डलसँग सम्बन्धित विभिन्न अड्कलबाजी सामाजिक सञ्जालमा फैलिरहेको बेला घिसिङको स्पष्ट प्रतिक्रियाले भ्रम हटाएको देखिन्छ।





