गायिका एलिना चौहानको ‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक टूर अझै पनि विवादकै बीचमा छ। टूर बीचमै छाडेर नेपाल फर्किएपछि सुरु भएको आरोप–प्रत्यारोपले अब नयाँ मोड लिएको छ।
एलिनाले अमेरिका बसाइका क्रममा आयोजकले नोकरजस्तै व्यवहार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा आक्रोश पोखिन्। यता आयोजक फ्लाइ नेपा ट्राभल्सले भने उल्टै करार उल्लंघन गरेको आरोप लगाउँदै यसको खण्डन गरेको छ।
आयोजकको दाबी – “एलिनाले बाहिरी संस्थाबाट रकम लिएर कार्यक्रम गरिन्”
फ्लाइ नेपा ट्राभल्सले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ—
एलिनाले करारविपरीत बाहिरी संस्थासँग रकम लिएर कार्यक्रम गरेकी पाइएपछि नै करार रद्द भएको हो। त्यसपछि बचेका सबै कार्यक्रम रद्द गरिँदा एलिना नेपाल फर्किइन्।
आयोजकको चेतावनीमा भनिएको छ—
“यदि एलिनालाई करार रद्द भएकोमा अन्याय भएको लाग्छ भने कानुनी बाटो अपनाउन सकिन्छ।”
एलिनाको प्रतिक्रिया – “तथ्यबिना आरोप, गलत व्यवहार सहनु परेको थियो”
एलिनाले भने युट्युब अन्तर्वार्ताहरूमा आयोजकले लगाएका आरोपहरु पूँजिपति सोझ्याउने शैली को भएको बताउँदै आफूलाई अनुचित व्यवहार गरिएको दाबी दोहोर्याएकी छन्।
यसैबीच केही दिनअगाडि एलिनाले न्यूयोर्कको एक कार्यक्रमबाट आफूले पारिश्रमिक बुझेको बिल समेत सार्वजनिक गरेपछि विवाद झनै तातेको छ।
बद्री पंगेनी र प्रताप दास अझै अमेरिकामै
टूरमा एलिनासँगै आएका गायक बद्री पंगेनी र प्रताप दास भने अमेरिका बसाइ जारी राखिरहेका छन्। एलिना अचानक फर्किएपछि टूरको बाँकी कार्यक्रम–व्यवस्था पनि प्रभावित भएको जनाइएको छ।
नेपाल फर्केर खुलेर बोल्न थालेपछि एलिना–आयोजक विवाद अब कानुनी मोडतिर जान सक्ने संकेत देखिन थालेको छ।





