न्युयोर्क — गत फेब्रुअरी महिनादेखि बेपत्ता रहेका झापा दमक–८ का धनबहादुर (प्रशान्त) ठकुरी मृत अवस्थामा फेला परेको खबरले अमेरिकास्थित नेपाली समुदाय स्तब्ध बनेको छ। लामो खोजतलासपछि उनको शव क्विन्स मेडिकल एक्जामिनर (मेडिकल शव परीक्षण केन्द्र) मा रहेको पत्ता लागेपछि यो दुःखद घटना बाहिर आएको हो।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमार्फत जानकारी बाहिरिएसँगै ठकुरी परिवार गहिरो शोकमा डुबेको छ। आर्थिक रूपमा कमजोर रहेको परिवारका लागि अमेरिकामा अन्तिम संस्कार पूरा गर्नु चिन्ताको विषय बनेको छ।
समुदाय एकजुट : २० हजार डलर संकलन अभियान सुरु
यो दुखद घडीमा एनआरएनए न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिका ले संयुक्त रुपमा सहयोग अभियान सुरु गरेका छन्। उनीहरूले GoFundMe मार्फत ठकुरीको अन्तिम संस्कार तथा अन्य खर्च व्यवस्थित गर्न २० हजार डलर जुटाउने लक्ष्यसहित निधि संकलन घोषणा गरेका छन्।
आयोजक संस्थाहरूले न्युयोर्क र अमेरिकाभरका संघ–संस्था, समाजसेवी र नेपाली समुदायलाई मानवीय समर्थनका लागि हात फैलाउन अनुरोध गरेका छन्।
स्वर्गीय ठकुरीकी श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन अमेरिकाको भिसा प्रक्रियामा रहेका छन्। उनीहरू न्युयोर्क आइपुगेपछि धार्मिक विधिअनुसार अन्तिम दाहसंस्कार गरिने बताइएको छ।
११ वर्षअघि रोजगारी र सपनाको खोजीमा अमेरिका आएका प्रशान्त ठकुरीको यस्तो दुखद अन्त्यले न्युयोर्कको नेपाली समुदाय मात्र होइन, विश्वभरका नेपाली मन बितरंगित बनाइदिएको छ।





