मकवानपुर — नेपाल आयल निगम थानकोट डिपोका नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्ने गिरोह पक्राउ परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, आइतबार साँझ करिब ४:३० बजे, अम्लेखगञ्ज डिपोबाट थानकोटतर्फ जाँदै गरेको ना ४ ख ९३७७ नम्बरको ट्याङ्करबाट गैरकानुनी रूपमा पेट्रोल झिक्ने क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको हो।
ट्याङ्कर मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर पुगेपछि चालक र पम्पका कर्मचारी मिलेर धेरै मात्रामा पेट्रोल चोरी गरी बिक्री गरिरहेका थिए। त्यही बेला प्रहरी टोली अचानक पुगेको र उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर तेल चोरी, आर्थिक आपराधिक कारोबार र सरकारी सम्पत्तिको दुरुपयोग सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार, तेल ट्याङ्करबाट यात्रा बीचमै चोरी गर्ने र पम्पसँग मिलेर बिक्री गर्ने गिरोह लामो समयदेखि सक्रिय रहेको शंका गरिएकाले घटना गम्भीर रूपमा अनुसन्धान हुँदैछ।






