latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

काठमाडौं- दलित समुदायबाट संस्कृत साहित्यमा पहिलो आचार्य उपाधि लिएका कृष्ण दमाईले पशुपतिनाथ मन्दिर परिसरको वनकालीमा आयोजित कोटीहोमलाई सम्बोधन गरेका छन् ।

आयोजकले भव्य स्वागत तथा अभिनन्दन गरेपछि सम्बोधनका क्रममा उनले आफू शुद्र कुलमा जन्मिए पनि आचार्य हुन सफल भएको बताए ।


दलितहरूलाई वेद-पुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक अवस्थालाई चुनौती दिँदै आचार्य बनेका कृष्ण दमाईले सनातन हिन्दू संस्कार जोगाउनुपर्ने बताए ।

नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उपाधि प्राप्त गरेका उनलाई कोटीहोममा ल्याउन आयोजकलाई दबाब थियो । हिन्दू धर्मले कसैलाई जातीय तथा अन्य आधारमा विभेद नगर्ने सन्देश दिन पनि उनलाई त्यहाँ ल्याउन दबाब परेको थियो ।

उनी बिहीबार नै कोटीहोमस्थलमा आएका थिए । तर उनलाई शुक्रबा सम्मानसहित सम्बोधन गर्ने अवसर पनि आयोजकले दिएका छन् । ‘म जन्मिदँदा शुद्र कुलमा जन्मिए पनि आचार्य हुने प्रेरणा गुरुबाट आएको हो । मैले एसएलसी टप गरेको थिएँ तर त्यसपछि पढ्न मसँग पैसा थिएन’, उनले सम्बोधनका क्रममा भने, ‘मैले स्कुल छोडेर भारत जान लाग्दा ब्रह्माण गुरु ईश्वरदत्त भट्टले ५ सय रुपैयाँ दिनु भएको थियो । उहाँले नै नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना गर्नु भएको थियो ।’

उनले कृष्ण दमाईलाई जसले कोटीहोममा ल्याउँछ, ऊ सफल हुन्छ भनेको आफूले पनि सुनेको बताए । ‘हाम्रो समुदायका जति पनि मानिसहरू छन् हामीमा पहिलो नम्बरमा चिन्तन र इच्छा हुनुपर्छ । जहाँ इच्छा त्यहाँ उपाय हुन्छ’, उनले संस्कृतको श्लोक सुनाउँदै भने, ‘ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः। ’

कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरका उनले शैक्षिक यात्राका क्रममा २०६४ एसएलसी गरेका थिए । त्यसपछि संस्कृत साहित्यमा आचार्य गरेका उनलाई पशुपति कोटीहोम तथा नेपाल माहात्म्य परिवारले सम्मान प्रदान गरेको हो ।

कृष्ण दमाई पहिलो व्यक्तिका रुपमा दलित समुदायबाट पण्डित बनेर कोटीहोमको व्यासमा बसे । ‘मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्छु । एउट शुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्ममा ल्याउने आदरणीय गुरूहरूमा नमन गर्छु’, उनले भनेका छन्, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरा लागि नेपालको राष्ट्रदेव पशुपतिको चरणमा स्वर्ग महसुस भएको छ । मैले यहाँ स्वर्ग प्राप्त गरेँ ।’

उनले ईश्वरदत्त भट्टलाई महान् गुरुको संज्ञा दिए । उनैले आफूलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाएको बताए । भाषा उत्तीर्ण गरेपछि छात्रवृत्तिमा सोचेको ठाउँमा पढ्न सक्ने भनेर आफूलाई बाटो देखाएको उनले बताए ।

‘धेरैले अनेक कुरा सुनाए । दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्न लाग्यो पनि भने । तर मलाई भट्ट गुरुले धेरै कुरा सिकाएर जानुभएको छ’, उनले भने, ‘मैले कर्मकाण्ड गर्न होइन, आफ्नो विद्वता बढाउन, सनातनका लागि, जन्मभूमिका लागि केही दिन पढेको छु ।’

उनले आफ्नो साथमा आमाबुवा नरहेको पनि सुनाए । उनकाअनुसार १२ मा पढ्दै गर्दा आमा बितेकी थिइन् । त्यसको ८ वर्षपछि २०७८ मा बुवा पनि बितेको उनले बताए ।

उनले आफूलाई यहाँसम्म ल्याएकोमा भट्ट गुरुलाई सम्झिरहे । ‘दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद पढ्नुपर्ने रहेछ भन्ने कोटीहोमले पुष्टि गरेकाले म श्री विजयकृष्ण मुर्तिज्यू महाराजलाई कृतज्ञ छु’, उनले भने, ‘यो पवित्र स्थलमा बोल्छु भन्ने कल्पनै गरेको थिइनँ ।’

उनले देशमा धार्मिक विध्वंस मच्चाएर एक-अर्कालाई फुटाउँदै सनातनलाई सिध्याउने षड्यन्त्र भएको बताए । ‘अहिलेसम्म हिन्दू सनातनले सहिरहेको छ । अब हामी हिन्दूत्वका लागि, सनातनका लागि एक हुनुपर्छ’, उनले भने, ‘हिन्दू संस्कार बचाउनु छ, सभ्य नागरिक बनाउनु छ, संस्कृत बचाउ अभियानमा जुट्नु छ । सबै जुट्नु छ । मेरा लागि यो कोटीहोम, पशुपतिनाथको पावन भूमि स्वर्ग बराबर भएको छ ।’

उनले सम्बोधनअघि स्वयंसेवकले दुबोको माला लगाइदिए । महायज्ञका आयोजक विजय कृष्णमूर्तिले दोसल्ला ओढाएर सम्हान गरे । मायाको चिनो पनि दिए । उनलाई व्यासमा राखेर थप सम्मान पनि गरियो ।

‘जन्मँदै कोही पनि ब्राह्मण हुँदैन । जसले भागवत अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हो,’ सम्मानका क्रममा दमाईप्रति लक्षित गर्दै उद्घोषकले भने ।

बैतडी घर भएका कृष्ण दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेर चर्चा बटुलेका छन् । त्यसअघि कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृतमै उनले उत्तर माध्यमिक र शास्त्री गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय