बुटवल ।
परपुरुषसँग होटल गएर बसेकी एक विवाहित महिलामाथि नसोचेको संकट आएको छ। होटलको कोठामै पुरुष बेहोस भएपछि मृत्यु भएपछि मृतकका आफन्तले महिलामाथि किटानी जाहेरी दिएका छन्।
घटना बुटवल–३ फूलबारीकी ३० वर्षीया महिलासँग जोडिएको हो। उनी दुई बालबालिका समेत लिएर बुटवल–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीसँग शनिबार दिउँसो न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लज पुगेकी थिइन्।
दुई कोठा बुक, तर पुरुष–महिला एउटै कोठामा
प्रहरीका अनुसार— होटलको दोस्रो र तेस्रो तलामा दुईवटा कोठा बुक गरे एक कोठामा महिलाकी नाबालक छोरी र भतिजी राखे अर्को कोठामा महिला र मृतक बसे ।
कोठामै मासु खाजा र मदिरा सेवन गरेपछि केही समयमै पुरुष अचानक बेहोस भएका थिए।
महिलाले होटल सञ्चालकलाई फोन गरेर खबर गरेपछि तुरुन्तै एम्बुलेन्समा लुम्बिनी प्रादेशिक अस्पताल पुर्यईयो ।तर चिकित्सकले निरीक्षणपछि मृत घोषणा गरे ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाका अनुसार शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको छ। मृत्युको कारण पोस्टमार्टमपछि मात्र पुष्टि हुने उनले बताए।
मृतकका छोरीले महिलाविरुद्ध किटानी जाहेरी दर्ता गरेकी छन्। परिवारका सदस्यले महिलासँगको भेट–सम्पर्क नै घटनाको जरो भएको हुनसक्ने दाबी गरेका छन्।
सतिशकुमार मुटुरोगी भएकाले मदिरा वा अरू कुनै औषधि सेवनका कारण पनि यसरी बेहोस हुनसक्ने आशंका व्यक्त गरेका छन्।
होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष माधव खनालका अनुसार—‘दुवै अलग–अलग कोठा लिएर बसेका थिए। पुरुष बेहोस भएपछि तुरुन्तै एम्बुलेन्समा अस्पताल पठाइयो। होटलको कुनै संलग्नता छैन। प्रहरी अनुसन्धानपछि सबै स्पष्ट हुन्छ।’
उनी अहिले प्रहरीको छलफलमा छन्।
चाँदबारीको स्थानीय सतिशकुमार क्षेत्री विवाहित दुई छोरीका पिता हुन् ।
मैनाबगरमा अटो व्यवसाय गर्ने उनि केही समयदेखि मुटुरोगका बिरामी थिए ।
डीएसपी रानाले घटनालाई अत्यन्त संवेदनशील भन्दै सबै कोणबाट अनुसन्धान भइरहेको बताए।






