काठमाडौँ।
मौसमविद्हरूले कात्तिक १३ र १४ गते ‘मोन्था चक्रवात’का कारण दुई दिन लगातार झरी परेर १५ गते शनिबारबाट मौसम खुल्ने पूर्वानुमान गरेका थिए। तर पूर्वानुमान ठ्याक्कै मिलेन—शनिबार बिहान मात्रै होइन, आइतबार (कात्तिक १६) बिहानसम्म पनि काठमाडौं उपत्यकासहित देशभर बादलै बादल, हल्का वर्षा र चिसो वातावरण नै रहिरहे।

अब प्रश्न उठेको छ—चक्रवात कमजोर भइसकेपछि पनि झरी किन लम्बियो ?

जल तथा मौसम विश्लेषक डा. धर्मराज उप्रेति भन्छन्—नेपालमा सक्रिय ‘ठूलो मौसमी प्रणाली’ त छैन, तर मोन्था चक्रवातले छोडेको अवशेष र अरब सागरको न्यून चापीय प्रणाली, दुबै मिलेर बादलको मोट्ठो तह बनाइदिएको छ।

यही कारणले मौसम निरन्तर जलवाष्पयुक्त वायुद्वारा भरिँदै गयो।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार, नेपाल अहिले तीनै दिशाबाट जलवाष्प बोकेका हावाको बीचमा परेको छ—

पश्चिमबाट—पहिले सक्रिय भएर फेरि कमजोर भएको पश्चिमी वायु

दक्षिणबाट—मोन्थाको अवशेष

पूर्वबाट—थाइल्यान्ड–बंगलादेश वरिपरि बनेको नयाँ चक्रवातीय प्रणाली

यसरी तीन प्रणाली एकअर्कामा ठोक्किँदा नेपालमा वर्षा गराउने बादल जमेर बसिरह्यो।

उपाध्यायका अनुसार—मोन्थाको अवशेष शुक्रवारबाट पूर्वतर्फ खाडीको दिशामा हट्नुपर्ने थियो।
तर थाइल्याण्ड–बंगलादेशको नयाँ चक्रवातीय क्षेत्रले उल्टै यसलाई फेरि उत्तर–पश्चिम तर्फ (नेपालतिरै) धकेल्यो।

पूर्वानुमान अनुसार मिलेन ?

कारण सरल छ—एकै समयमा धेरै मौसमी प्रणाली सक्रिय हुँदा ‘सुपर-इंटरएक्टिभ वेदर जोन’ बन्छ, जसको गति र दिशालाई मोडेलले पूर्ण रूपमा क्याल्कुलेट गर्न कठिन हुन्छ।

उपाध्याय भन्छन्—“धेरै प्रणाली एकै ठाउँमा मिसिएको जटिल अवस्था भएकाले अब मौसम कहिले खुल्छ भनिदिन सजिलो छैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय