गुल्मी ।
गुल्मीमा एक युवकले घरायसी विवादकै बीच आफ्नै बुवामाथि आक्रमण गरी हत्या गरेका छन् भने आमालाई पनि गम्भीर घाइते बनाएका छन्।
गुल्मी जिल्ला प्रहरी कार्यालयका अनुसार, मालिका गाउँपालिका–३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई उनका छोरा २५ वर्षीय टोपबहादुर विकले शनिबार बिहान धारिलो हतियार र मुग्रो प्रहार गरी हत्या गरेका हुन्।
प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार छोरा टोपबहादुरले क्रुर ढंगले आक्रमण गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको हो।
आक्रमणबाट गम्भीर घाइते ४८ वर्षीया धनमाया विकलाई पहिलो उपचारपछि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो।
स्थिति जटिल भएकाले उनलाई तुरुन्तै लुम्बिनी मेडिकल कलेज, पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ।
बुवाको हत्या र आमामाथि आक्रमणमा संलग्न टोपबहादुरलाई स्थानियको सहयोगमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
धनबहादुर विकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ।
स्थानीयवासी अनुसार विक परिवारमा विगत केही समयदेखि मनमुटाव र झैँ–झगडा दोहोरिन थालेको बताइन्छ। प्रहरीले भने घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान जारी राखेको छ।






