अछाम । अछामको साँफेबगरमा आज भीषण आगलागी हुँदा ७ वटा टहरा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। अहिले पनि आगो नियन्त्रणको प्रयास जारी छ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार आगलागीले दुवैतर्फका पसलहरूमा फैलिन नदिन स्थानीयले पहिले नै भत्काएर सुरक्षित बनाएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ।
आगलागी सुरु भएको लामो समय बितिसक्दा पनि साँफेबगरमा दमकल नपुगेको प्रहरीले जनाएको छ।
दमकल नआएपछि स्थानीय, प्रहरी र व्यापारीहरूले नजिकैको खोलाबाट पानी बोकेर आगो निभाउने प्रयास गरिरहेका छन्।
टहरा बाक्लो रहेकाले आगो छिट्टै फैलिएको र नियन्त्रण गर्न कठिन भइरहेको प्रहरीले बताएको छ।
घटना कसरी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।
अहिलेसम्म मानवीय क्षति नदेखिएको र आगो नियन्त्रणका प्रयास तीव्र पारिएको जिल्ला प्रहरीले जनाएको छ।






