रूपन्देही — नेपाल विद्युत् प्राधिकरणको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दै गरेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतम अचानक बेहोस भएर ढले।
भाषणकै बीचमा उनी बोले—
“अतः यो कारणले…”
तर वाक्य पूरा गर्न नपाउँदै भुइँमा ढल्न पुगे।

तत्कालै उनलाई बुटवलस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। ढलेको १५ मिनेटमै अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई बचाउन सकेनन्। अस्पतालले कार्डियाक अरेस्ट (मुटु अचानक बन्द हुनु) कारण मृत्यु भएको पुष्टि गर्यो।

६३ वर्षीय गौतम मधुमेहको औषधि सेवन गर्दै आएका थिए।

के हो कार्डियाक अरेस्ट?

मुटुरोग विशेषज्ञ डा. सहदेव ढुंगानाका अनुसार, कार्डियाक अरेस्ट भनेको अकस्मात मुटुको चाल नै बन्द हुने अवस्था हो।

मुख्य विशेषताः
मुटुको धड्कन अचानक बन्द
केही सेकेन्डमै व्यक्ति ढल्छ
शरीरमा अक्सिजन पुग्न छाड्छ
३–५ मिनेटमै मस्तिष्कमा क्षति
तत्काल उपचार नपाए मृत्यु

उनका अनुसार,

हृदयाघात

मुटुको चाल बिग्रिनु (VT/ VF)

मुटुको मांसपेशी कमजोर हुनु

मुटुको भल्व समस्या

रगतको थोप्ला एक्कासि मुटुमा पुग्नु

जन्मजात मुटुरोग
यी सबै कारणले कार्डियाक अरेस्ट हुन सक्छ।

यही कारणले केही मानिस जिम गर्दा, बोल्दै गर्दा, वा सुतिरहेको बेलामा अचानक मर्छन्।

सीपीआरले बचाउन सकिन्थ्यो?

उपाध्यक्ष गौतम ढलेको भिडियोपछि धेरै चिकित्सकले टिप्पणी गरे—
“तत्काल सीपीआर (CPR) दिइएको भए, सम्भवतः ज्यान जोगिन्थ्यो।”

आकस्मिक विशेषज्ञ डा. रामु खरेल भन्छन्—
कार्डियाक अरेस्ट भएपछि तुरुन्त सीपीआर दिनुपर्छ
विकसित देशमा सबै नागरिकलाई सीपीआर सिकाइन्छ
नेपालमा अधिकांशले सीपीआर के हो थाहा छैन
सीपीआर ढिलाइ भयो भने ज्यान बच्ने सम्भावना घट्छ

सीपीआर दिनको आधारभूत विधिः

बिरामीलाई सिधा सुताउने

छातीको बीच भागमा दुवै हातले

३० पटक जोरले थिच्ने

लगातार थिचेर रक्तसञ्चार चलाइराख्ने

डा. खरेलका अनुसार विद्यालय तहदेखि नै सीपीआर सिकाइए धेरै ज्यान बचाउन सकिन्छ।

कति जनालाई बचाउन सकिन्छ?

डा. ढुंगाना भन्छन्—

अस्पतालबाहिर ढलेका १०० मध्ये करिब ८ जना सीपीआरले बच्न सक्छन्

अस्पताल पुगेपछि पनि २०–२५% मात्र बचाइन्छ

मस्तिष्कले केही मिनेटमै रगत नपाएपछि नसाहरू मर्न थाल्ने भएकाले समय नै जीवन हो।

कमल गौतमको मृत्युले नेपालमा कार्डियाक अरेस्टबारे जनचेतना र सीपीआर तालिमको अभाव कति घातक छ भन्ने देखाएको छ।
विशेषज्ञहरूको एउटै सुझाव छ—
सीपीआरको तालिम विद्यालय, प्रहरी, उद्योग, र सार्वजनिक स्थानहरूमा अनिवार्य बनाउने
ढलेको व्यक्तिलाई तुरुन्त सीपीआर दिन सक्ने जनशक्ति तयार गर्ने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय