झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारका ३५ वर्षीय सरोज शर्माको रहस्यमय हत्या प्रकरणले भय र आक्रोश दुवै सिर्जना गरिरहेको छ। एक सातादेखि बेपत्ता रहेका शर्माको शव शनिबार बिहान बिरिङ खोलाको पुलमुनी कालो प्लास्टिकमा बेरिएको र माटोले छोपिएको अवस्थामा फेला परेको छ।
घटनामा संलग्न रहेको आरोपमा माइधारकै २५ वर्षीय सुनिल साह र २६ वर्षीय राहुल साहलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।
दुवैजना लागूऔषध दुव्र्यसनी रहेको र उनीहरूकै समूहबाट योजनाबद्ध हमला भएको स्थानीयले आशंका व्यक्त गरेका छन्।
प्रहरीका अनुसार घटनामा ४–५ जनाको टोली संलग्न देखिएको छ।
दुवै पक्राउ परेकासँग महत्वपूर्ण सुराकी फेला परेको र फरार अभियुक्तहरूको व्यापक खोजी भइरहेको प्रहरीको भनाइ छ।
शर्मा कार्तिक ९ गते दिउँसो माइधारस्थित घरबाट
“गाडी धुन जाँदैछु” भन्दै
बा १–०३०–च ७१९४ नम्बरको सेन्लटस कम्पनीको गाडी लिएर निस्किएका थिए।
काठमाडौंमा बस्दै आएका उनी दशैं मनाउन माइधार आएका र छठ सकिएपछि फर्कने तयारीमा थिए।
तर त्यसैदिन उनी सम्पर्कविहीन बने।
परिवारले प्रहरीमा खोजतलास दिए पनि ७ दिनसम्म कहिँ सुचना नआएपछि शुक्रबार बिहान बिरिङ खोलामुनि उनको शव भेटियो।
शर्मा सवार गाडी हातेमालो सामुदायिक वनभित्र
दुई दिनअघि नै पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको थियो।
गाडी जलाइएको तरिका र शव गाडिएको स्थानबीचको दूरीले
यो घटना सामान्य बेपत्ता होइन, योजनाबद्ध हत्या भएको प्रष्ट संकेत गर्छ।
प्रहरीले—सुरुङा बजारको अन्तिम सिसिटिभी फुटेज,मोबाइल कल डिटेल, जलेको गाडी र घटनास्थलबाट भेटिएका वस्तुहरूको फरेन्सिक परीक्षण
मार्फत प्रमाण सङ्कलन गरिरहेको छ।
सिसिटिभीले शर्मा देखिएको अन्तिम स्थान पुष्टि गरिदिएको प्रहरीको दाबी छ।
शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ।
प्रहरीका अनुसार—
“शवको अवस्था अत्यन्तै क्रूर र निर्मम आक्रमणको संकेत गर्छ।”
पोष्टमार्टम रिपोर्टले मृत्युको कारण, समय र चोटपटकहरूको प्रकृति स्पष्ट पार्नेछ।
हत्या काण्ड सार्वजनिक भएपछि माइधार र आसपासका बस्ती तनावग्रस्त बनेका छन्।
आक्रोशित भीडले आज सुनिल साह र राहुल साहको घरमा तोडफोड गरेको छ । आक्रोशित भीडले श्याम साहको मे १ ह ७२३७ नं को अटोमा आगजनी गरेको छ ।
आगजनी प्रयाससमेत भएको र प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिनु परेको छ।
हाल अतिरिक्त सुरक्षा बल परिचालन गरिएको छ।
प्रहरी अधिकृतका अनुसार—“गाडी जलाउने, शव गाड्ने र अपराध ढाकछोप गर्ने शैली अत्यन्त योजनाबद्ध छ।
आर्थिक विवाद, व्यक्तिगत वैमनस्य वा समूहगत आपराधिक क्रियाकलाप–
सबै कोणबाट अनुसन्धान भइरहेको छ।”






