झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारका सरोज शर्माको हत्या गरि फालिएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कार्तिक ९ गतेदेखि गाडीसमेत बेपत्ता भएका शर्मा आज बिहान बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाको सीमानामा पर्ने बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेका हुन्।
३३ वर्षीय शर्माले चढ्ने बाग्मती प्रदेश–०१–०३–च ७१९४ नम्बरको कार केही दिनअघि नै मेचीनगर–१३ हातेमालो सामुदायिक वनभित्र बेवारिसे र जलेको अवस्थामा भेटिएको थियो।
कार जलाइएको घटनाले हत्या भएको आशंका त्यतिबेलै गहिरिएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार शर्माको शव बिरिङ खोलामा माटोमा गाडिएको थियो।
दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शव उठाएर अनुसन्धान अघि बढाएको छ।
हत्या किन गरियो, कसले योजना बनायो र घटनाको वास्तविक कारण के हो भन्नेबारे प्रहरीले दुवै आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
एसपी लिम्बु भन्छन्— “शर्माको हत्या किन गरियो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।”







