मुम्बई । बलिउडका अनुभवी अभिनेता धर्मेन्द्र अचानक अस्वस्थ भएपछि शुक्रबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। परिवारका अनुसार, उनलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले केही समय निगरानीमा राख्न सुझाव दिएपछि अस्पतालमै राखिएको हो।
आगामी डिसेम्बर ८ मा ९० वर्ष पूरा गर्न लागेका धर्मेन्द्रले हल्का ज्वरो र कमजोरीको गुनासो गरेका थिए।
तर, परिवार नजिकका स्रोतहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिन्ता गर्नुपर्ने अवस्था नभएको बताएका छन्।
धर्मेन्द्रको स्वास्थ्यबारे अनलाइनमा विभिन्न अड्कलबाजी भएपछि परिवारले प्रशंसकहरूलाई सचेत गराउँदै—
“हल्लामा नपर्नुहोस्, उहाँ अब सुरक्षित हातमा हुनुहुन्छ।”
भनेको छ।
धर्मेन्द्रले विगतमा पनि विभिन्न स्वास्थ्य समस्याहरू फेस गरे पनि उनी अझै पनि बलिउडका सबैभन्दा सक्रिय वरिष्ठ कलाकार मानिन्छन्।
धर्मेन्द्र अभिनीत नयाँ फिल्म ‘इक्कीस’ को ट्रेलर केही दिनअघि मात्र सार्वजनिक भएको थियो।
फ्यानहरू सामाजिक सञ्जालमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गरिरहेका छन्।






