latest
शनिबार , कार्तिक १५, २०८२

काठमाडौँ — भदौ २४ गतेको जेन्जी आन्दोलनपछि काठमाडौंका विभिन्न प्रहरी वृत्तमा भएको आगजनी–तोडफोडका क्रममा लुटिएका हतियारहरू अवैध रूपमा ‘चेन सेल’ हुँदै बिक्री वितरण गरिएको रहस्य खुलेको छ।
यस क्रममै प्रहरीले एक थान पेस्तोल र १५ राउन्ड गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रहरी वृत्त स्वयम्भूबाट सुरु गरिएको अनुसन्धानले लुटिएको पेस्तोल क्रमशः एक–एक जनाबाट अर्कोमा बेच्दै गएको तथ्य पुष्टि गरेको छ।

पहिलो:
धादिङका कृष्ण गुरुङ र काठमाडौंका राजन देउलाले प्रहरी वृत्तमा भएको अराजकताका बेला पेस्तोल र गोली लुटेको प्रहरीको भनाइ छ।

दोस्रो :
उनीहरूले हतियार भारतको बिहार घर भएका अकबर खानलाई दिए।
अकबरसमेत पक्राउ परे तर उनीसँग हतियार भेटिएन।

तेस्रो :
अकबरले पेस्तोललाई काठमाडौं–१५ का २६ वर्षीय सुमिन शाक्यलाई ६० हजार रुपैयाँमा बेचेको स्वीकारे।

चौथो :
सुमिनले सोही पेस्तोललाई बानेश्वरका ३८ वर्षीय कपडा व्यवसायी प्रभात मल्ललाई १ लाख रुपैयाँमा पुनः बेचे।

अन्तिम फेला पारेको स्थान :
प्रहरीले मल्लको बानेश्वरस्थित कपडा पसलमा छापा मार्दा चेन्जिङ रूमभित्र लुकाइराखिएको पेस्तोल र १५ राउन्ड गोली फेला पार्यो।

५ जनालाई ६ दिनको म्याद

हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँचै जनामाथि अनुसन्धान अघि बढाइएको छ।
काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ६ दिनको म्याद दिएको छ।

एसपी पवन भट्टराईका अनुसार—‘जेन्जी आन्दोलनका बेला लुटिएका हतियारहरू अवैध रूपमा एक पछि अर्को व्यक्तिमा बिक्री वितरण भएको जटिल श्रृंखला खुलिरहेको छ। घटनाबारे थप प्रमाण संकलन भइरहेको छ।’

यो अनुसन्धानले राजधानीमा आन्दोलनपछि लुटिएका हतियारहरू आपराधिक नेटवर्कमा घुम्न थालेको गम्भीर चित्र उजागर गरेको प्रहरीको ठम्याइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय