 
							काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधिसभा चुनाव घोषणा गरेसँगै नयाँ दल दर्ता गर्नेको भीड निर्वाचन आयोगमा बढेको छ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा मन्त्री कुलमान घिसिङ पनि नयाँ दल दर्ताको अन्तिम तयारीमा रहेका छन्।
बालेन–घिसिङ ‘कोर टिम’ लगातार छलफलमा
स्रोतका अनुसार बालेन र घिसिङ दुवैले पछिल्लो केही सातादेखि आफ्ना नजिकका सहयोगीमार्फत नयाँ दलको ढाँचा, संरचना र पदाधिकारीबारे नियमित छलफल गरिरहेका छन्।
घिसिङ अहिले दिल्लीमा ‘इन्टरनेशनल सोलार अलायन्स’को बैठकमा भए पनि, नेपालमा भने दल गठनको गृहकार्य तिव्र गतिमा चलिरहेको बताइएको छ।
घिसिङ फर्किएलगत्तै दल दर्ता टुंगो लगाउने तयारी छ।
बालेनले प्रत्यक्ष नेतृत्वमा खुला रूपमा नदेखिने, तर आफ्नो ‘कोर टिम’लाई पार्टीको प्रमुख जिम्मेवारी दिने बताइएको छ।
उनले यी व्यक्तिलाई संरचना बनाउन जिम्मा दिएका छन्— कुमार बेन, सुमना श्रेष्ठ, भूपदेव शाह, सन्तोष गिरी (संगठन प्रमुखका लागि प्रस्तावित)
रास्वपा–बालेन–घिसिङ गठबन्धन बन्ने सम्भावना ‘टुट्यो’
सुरुमा बालेन–घिसिङले रवि लामिछानेसँग एउटै दलमा जाने सम्भावना खोजेका थिए।तर, लामिछानेले नेतृत्व छाड्न नसक्ने अडान लिएपछि छलफल अन्त्य भएको बताइन्छ।
यद्यपि रास्वपाका केही असन्तुष्ट नेताहरू—तोसिमा कार्की, गणेश कार्की, मुकुल ढकाल नयाँ दलमा जान सहमत भएको बुझिएको छ।
नयाँ दलमा यी समूहलाई पनि समेट्ने तयारी छ–
जेनजी आन्दोलनका प्रतिनिधिहरू (मिराज ढुंगाना समूह)
स्वतन्त्र मेयरहरू – हर्क साम्पाङ, गोपी हमालसँग छलफल
पुराना विवेकशील–साझा पृष्ठभूमिका नेता
कांग्रेस–एमाले छाडेर आएका असन्तुष्ट नेता
निश्चल बस्नेतलगायत जनचाहना बढेका कलाकार र अभियन्ता
स्रोतका अनुसार बालेन–घिसिङ दल दर्ता गर्ने सबै तयारी अन्तिम चरणमा छ।
घिसिङ स्वदेश फर्किएलगत्तै— पार्टीको नाम, प्राथमिकता, पदाधिकारी, निर्वाचन रणनीति औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

 
												 
												 
												 
												 
												




